महिनावारी हुनु प्राकृतिक र सरसफाईको प्रकृया हो, देवीदेउतासँग नजोडौँ
सुर्खेत : महिनावारी बार्ने अर्थात महिनावारी विभेद (छाउपडी प्रथा) समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।
यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ‘छाउपडी प्रथा’ अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् ।
ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन महिनावारी विभेद (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त नवौँ श्रृंखलामा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्त सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवाली कुराकानी गरेका छौँ । प्रस्तुत छ, ज्ञवालीसँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंश :
महिनावारीलाई कसरी बुझ्नुहुन्छ ?
महिनावारी एउटा जैविक र प्राकृतिक प्रक्रिया हो । यो एउटा नियमित प्रक्रिया पनि हो । किशोरी किशोरावस्थामा प्रवेश गरिसकेपछि त्यहाँबाट सुरुवात हन्छ । नौ दश वर्षबाट सुरुवात भएर ४५/५० वर्षको अवधिसम्मको उमेरसमुह महिनावारी हुने उमेरसमुह भनेर पनि चिन्ने गरिन्छ ।
तपाईको पहिलो महिनावारी अनुभव कस्तो रह्यो ?
मेरा अधिकाँश साथीहरु महिनावारी भइसक्नुभएको पनि थियो । म उमेरका हिसाबमा ढिलै महिनावारी भएको हुँ । म १३ वर्षको उमेरमा पहिलो महिनावारी भएको हुँ । म आठ कक्षा पढ्दा मात्र महिनावारी भएको थिएँ । त्यो बेला महिला महिनावारी हुन्छ भन्ने जानकारी थियो । विद्यालयमा पनि पढाई हुन्थ्यो । तर, पनि महिनावारीको बारेमा पुरा जानकारी थिएन ।
म महिनावारी भएको जानकारी थाहा पाएपछि सबै भन्दा पहिले मेरो आमालाई सुनाए । त्यो बेला हाम्रो समाजमा पहिलो महिनावारी हुँदा लुकाउनुपर्छ, लुक्नुपर्छ भन्ने चलन थियो । हाम्रो घर पनि छुट्टै समाजमा बसेको घर होइन् । लुकाउनुपर्छ, लुक्नुपर्छ, सूर्यलाई हेर्न नहुने जस्ता किसिमको मान्यता थियो । त्यसपछि मलाई दिउँसोको समयमा छिमेकीको घरको माथि परालहरु राखेर मलाई राख्ने व्यवस्था बनाइएको थियो । राती सूर्य अस्त भइसकेपछि आफ्नै घरको एउटा कोठामा आएर बस्ने व्यवस्था गरिएको थियो । मेरो पहिलो महिनावारीको अवस्था यहि हो । त्यतिबेला मलाई अनौठो लाग्थ्यो । महिनावारी हुँदा लुकाउँदाखेरी पनि अनौठो लाग्थ्यो । त्यो बेला सूर्यलाई पनि किन हेर्न नहुने भन्ने अनौठो लाग्थ्यो । तर, मैले सूर्यलाई हेर्थे । पहिलो महिनावारीमै किन सूर्यलाई नहेर्ने, सूर्यबाटै भागेर हिड्नुपर्ने त्यस्तो के छ र भनेर हेर्ने गर्थे । त्यसपछि ११ दिनको दिन असाध्यै खुसी लाग्यो । किन भने मलाई ११ दिन पुगेको उपलक्ष्यमा घरमा सेलिबे्रसन पनि गरिएको थियो । चोख्याउने भनेर नयाँ कपडाहरु, कानमा लगाउने सुन पनि बनाइदिनुभएको थियो ।
११ दिन पुगेको उपलक्ष्यमा सेलिब्रेसन नै गरिन्छ भने अघि पछि महिनावारीलाई कुसंस्कारको रुपमा किन हेर्ने गरिन्छ होला ?
पहिलो महिनावारी हुँदा लुकाउनुपर्छ भन्ने समाजको नियम थियो, त्यो गर्नु हुँदैन्थ्यो । अर्र्काे भनेको सरसफाई सम्बन्धी अझ धेरै जानकारी दिनुपर्ने थियो । अर्को कुरा भनेको जुन ११ दिनमा गरिएको कुरालाई पहिलो दिन गरेको भए यो कुसंस्कारको जरा गाड्न पाउने थिएन । त्यो भएमा सबै परिर्वतन त्यहिँबाट हुन्थ्यो ।
महिनावारी बार्ने चलन पहिले र अहिलेको अवस्थामा के भिन्नता छ ?
पहिले र अहिलेको तुलनामा परिर्वतन देखिन्छ । तर, जति हुनुपर्ने हो त्यति देखिदैन । पहिले छुट्टै घरमा बस्ने प्रचलन थियो । पछिल्लो समय कतिपय व्यक्तिहरु एउटै घरमा बस्ने चलन छ । महिनावारी बार्ने चलनमा केही परिर्वतन आए पनि मानसिकतामा महिनावारी अझै हटेको छैन । जब मलाई महिनावारी प्राकृतिक प्रक्रिया हो । महिनावारी बार्ने भन्दा पनि सरसफाईसँग जोडिएको कुरा हो भन्ने कुरा जानकारी भयो त्यहाँ देखि मैले महिनावारी बार्ने काम गर्दैन । त्यो बेला मेरो स्वास्थ्यलाई चाहिने कुरा भनेको सरसफाई र खानपिनमा विशेष ख्याल गर्नुपर्छ । त्यो अवस्थामा पेट दुख्ने हुनाले तातो सुपयुक्त खानेकुराहरु खाने गर्नुपर्छ । म पनि त्यहि गर्छु । दुखाईलाई व्यवस्थापन गर्ने र मैले कस्तो खानेकुरा खाने भन्नेतर्फ ध्यान दिन जरुरी छ ।
छाउपडी अन्त्यका लागि छाउगोठ भत्काइए तर, पनि छाउगोठ पुनः ठडिदै छन् यसको अन्त्यका लागि ठोस कदम के चाल्नुपर्ला ?
महिनावारी भनेको मानसिकतासँग जोडिएको विषय हो । कुनै समय थियो, रगत भनेको चाडै संक्रमण हुने चिज हो । रगत जथाभावी भएर त्यसले सम्बन्धित व्यक्तिलाई वा अरुलाई संक्रमण नगरोस् । जुन समयमा सरसफाई सम्बन्धी सागम्री थिएनन् । लत्ताकपडाहरु थिएनन् । महिनावारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी थिएन । त्यो बेलाकोे समयमा आइसोलेशन राखिएको हो ।
जस्तै कोभिडको समयमा कोभिडबाट कसरी बच्ने भन्ने जानकारी नभएर हामीले कोभिड लागेको व्यक्ति आइसोलेशनमा बस्यौँ नी त्यो समयमा रगत व्यवस्थापन गर्ने जानकारी नहुँदा, सरसफाईको सामान नहुँदा त्यतिबेलाको समाजले गरेको निर्णय हो । कोभिडलाई दुई वर्षमा परास्त ग¥यौँ । अहिले सामान्य छ । यसबाट एउटा कुरा के बुझ्न सकिन्छ भने सबैभन्दा ठुलो कुरा भनेको सरसफाई हो । सरसफाई गरेपछि सरसफाईमा जोडिएको सबै कुरा रहेछ भन्ने बुझ्न सकिन्छ । महिनावारी भनेको पनि त्यहि हो । त्यतिबेलाको समयमा सरसफाई नभएर आइसोलेट गरेर राखिन्थ्यो ।
अहिलेको समयमा सरसफाई सम्बन्धी सामाग्री पनि धेरै छन् । यदि पुगेको छैन त केबल चेतना । अहिलेको समय भनेको आइसोलेट भएर बस्नुपर्ने अवस्था छैन । त्यो व्यवस्थापन व्यक्तिले गर्ने हो । गोठ भत्काएर मात्र छाउपडी भत्किनेवाला छैन । त्यसको लागि प्रत्येक व्यक्तिको मानसिकतामा रहेको छाउडीलाई हटाउनुपर्छ ।
यो प्राकृतिक कुरा हो, धर्मले बनाएको होइन । त्यस्तो हुन्थ्यो भने हिन्दु धर्ममा मात्र हुने अन्य धर्ममा नहुने भन्ने पनि हुँदैन । यो धर्मले बनाएको कुरा होइन । हिन्दु धर्मका महिलाहरु मात्र महिनावारी हुने होइन क्रिस्चियन, बौद्ध, मुस्लिम लगायतका धर्म मान्ने महिला पनि महिनावारी हुनुहुन्छ । भनेपछि यो प्राकृतिक कुरा हो । यसका लागि छुट्टै घर बनाएर बस्नुपर्ने आवश्यक छैन सरसफाईको कुरामा ध्यान दिए पुग्छ । यो भगवानले बनाएको कुरा होइन्, कुनै समयमा कडाईका रुपमा पालना होस् भन्नका लागि जोडियो, त्यही कुरालाई मानिसहरुले निरन्तरता दिदै अझ जोड्दै आएका छन् । यस्तो कुरा सबैको मानसिकताबाट हटाउनु र हट्नुपर्छ ।
मर्यादित महिनावारी बनाउन के गर्नुपर्ला ?
महिनावारीका कुरा एउटा प्राकृतिक प्रक्रिया हो । महिनावारीको नाममा कुनै पनि महिनावारी हुने व्यक्तिले भोग्ने विभेदको अन्त्य हुनु नै मर्यादित महिनावारी हो । त्यो कारणले गर्दा कसैले पनि विभेद भोग्न नपरोस । विभिन्न अवसरमा विभेद नहोस् । हामीले घरबाट सुरुवात नगरेर बाहिर भाषण गरेर मात्र परिर्वतन हुँदैन । हामी सबैले आ–आफ्नो घरबाट सुरुवात गर्नुपर्छ ।
प्रतिक्रिया