गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावनादूत चयन

गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावनादूत चयन

काठमाण्डाैं  – महिलाको महिनावारी अर्थात् रजस्वला प्रक्रियालाई पाप वा अपवित्र होइन गौरब र मर्यादाको रुपमा विकास गराउने सचेतनाको काम गर्दै आएको ‘महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएम पीए)’ले लोक तथा देउडा गायिका रेखा जोशी सद्भावनादूत चयन गरेको छ ।

देशभरका बिभिन्न ठाँउमा छाउपडी प्रथा हटाउन जोशी राष्ट्रिय मर्यादित महिनावारी सद्भावनादूतको रुपमा नियुक्त गरिएको ‘महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएम पीए)’का राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

महिनावारी स्वच्छता तथा मर्यादा विपरितका कुसंस्कार र अन्धविश्वासका विरुद्ध जनचेतना बढाउन गायिका जोशीले विभिन्न टक सो, अन्तरकृया तथा छलफल गराउनुहुनेछ । महिनावारीको सरसफाई तथा मर्यादाका लागि नीति निर्माता र निर्णायकर्ता समेतलाई सघाउने काम गर्ने सद्भावनादूत जोशीको भनाइ छ ।

‘महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएम पीए)’मा संयुक्त राष्ट्रसंघका निकायहरु, अमेरीकन, बेलायती, जर्मनी, फिनल्याण्डका दुतावासहरु समेत ३० ओटा भन्दा बढी अन्र्तराष्ट्रिय तथा ४० भन्दा बढी राष्ट्रिय गैर सरकारी संस्थाहरु यसमा आवद्ध छन् ।

सरकारका निकायहरु र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि गरिएका प्रयासहरु सार्धकता दिन ‘महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएम पीए)’ले राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुलाई सद्भावनादूत नियुक्त गर्ने गरेको छ ।

दुई वर्ष अघि सुदूरपश्चिम क्षेत्रका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नेपालले गायिका जोशीलाई सद्भावनादूतमा नियुक्त गरेको थियो । त्यसबेला उहाँले विद्यार्थीहरू, ज्येष्ठ नागरिकहरू, युवाहरू, आमजन समुदाय र अन्य सरोकारवालाहरूवीच पुगेर साँगितिक सचेतना अभियान चलाउनुभएको थियो ।

सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रको शैक्षिक अवस्था, आर्थिक जीवनस्तर, सामाजिक चेतना कमीको कारण महिला महिनावारी हुँदा अनि सुत्केरी भएको बेला घर भन्दा टाढा छाउगोठमा राख्ने सुदूरपश्चिम क्षेत्रमा यही क्षेत्रको व्यक्ति गायिका जोशीलाई (एमएचएम पीए)’ले मर्यादित महिनावारी सद्भावनादूत नियुक्त गरेको पहिलो पटक हो ।

महिनावारी र सुत्केरी भएको बेला महिलालाई छाडगोठमा राख्ने कुचलन बारे जानकार गायिका जोशी आफैले समस्यालाई गहन रुपमा बुझेको कारण आफ्नो गायिकी कलाको माध्यमबाट प्रभावकारी सचेनता फैलाउन सक्नेमा आफू बढी आशावादी रहेको अछामकी पत्रकार मेनुका ढुंगानाले बताउनुभयो ।

पत्रकार ढुंगानाले आफूले मर्यादित महिनावारी सवालमा आमसञ्चार माध्यममा गहनताका साथ लेखेर समस्या उजागर गरेको र सद्भावनादूत गायिका जोशीलाई आवश्यक परेको सहयोग तथा सहकार्य गर्न आफू तत्पर रहेको जनाउनुभयो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णबहादुर जीसीले सचेतना अभियान कुनै नागरिक समाज संस्थाले गरे पनि सरकारको समेत चासो भएकोले मर्यादित महिनावारी सद्भावनादूत रेखा जोशीका कामलाई आफूहरुको पनि सहयोग रहने बचन दिनुभयो ।

अरुहरु भन्दा कलाकारहरुका कुरा अझ बढी ध्यानदिएर आमसर्वसाधारणले सुन्ने भएकोले कलाकारहरुलाई सद्भावनादूत नियुक्त गर्ने गरिंदै आएको कुरा हो तर सुदूरपश्चिम र कर्णाली प्रदेशको छाउपडीप्रथा आफैले भोगेको रेखा जोशी जस्तो राष्ट्रिय कलाकार सद्भावनादूत बन्नुभएकोमा सचेतना अभियान अझैं बढी प्रभावकारी हुने मन्त्री जीसीको बिश्वास छ ।

प्रतिक्रिया