महिनावारी अपवित्र हो भने हामी सबै अपवित्र हौँ
सुर्खेत : महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद समाजमा जरो गाडेर बसेको छ । महिनावारी विभेदले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।
यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । महिनावारी विभेद अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले कर्णाली, सुदुरपश्चिम लगाएतका क्षेत्रमा केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर महिनावारी विभेद अन्त्य हुने देखिदैन् ।
ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त बाह्रौ श्रृंखलामा डा. नवराज केसीसँगकुराकानी गरेका छौँ । प्रस्तुत छ, बाल रोग विशेषज्ञ डा. केसीसँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको अंश :
महिनावारी (रजस्वला) के हो ?
महिनावारी भनेको मेन्सुरेसन भन्छन् । प्राकृतिक रुपमा मानिसले मात्र नभएर हरेक प्राणीमा महिनावारी हुन्छ । यो भनेको जुन महिलाहरुको अण्डाशय हुन्छ । महिनामा एउटा बन्छ । त्यो आएर पाठेघरमा रहन्छ । त्यतिबेलामा पुरुषको शुक्रकिटले भेट्यो भने बच्चा हुन्छ । नत्र भने चार देखि ५ दिनसम्म त्यो हराइहाल्नुपर्छ । किन भने नयाँ नयाँ अण्डाशय बन्नुपर्छ । त्यो अण्डाशयको लागि उपयुक्त बातावरण दिनको लागि हुने प्रक्रियालाई वास्तवमा हामीले महिनावारी भनेर भन्छौँ । यो एउटा प्रकृतिक नियम हो । जस्तो हामी कुद्दाखेरी हाम्रो मुटुको गति बढ्छ । जुन प्राकृतिक रुपमा हाम्रो शरिरमा भएका परिर्वतनहरु हुन्छ, प्रत्येक दिन प्रत्येक हप्ता नङ, कपाल लामो हुन्छ त्यस्तै एउटा सामान्य प्रक्रिया हो ।
महिनावारी हुँदा सरसफाइमा कसरी ध्यान दिने ?
महिनावारी हुँदाखेरी महिलाहरुले सरसफाईमा एकदमै ध्यान दिनुपर्छ । सरसफाईमा ध्यान दिने भनेको उनीहरुलाई घरमा उपयुक्त पानी हुनुप¥यो । साबुनहरुm सफा लुगाकपडाहरु, सेनेटरी प्याडहरुको उपलब्ध गराउनुपर्छ । त्यो बेलामा उनीहरुको जुन अङ्गहरु छ । त्यसलाई सफा गरिराख्नुपर्छ ।
महिनावारीको रगत अपवित्र भन्ने गरिन्छ, यसलाई कसरी चिर्नुहुन्छ ?
यो कुरा सबैभन्दा महत्वपुर्ण कुरा हो । महिनावारीको रगत अपवित्र भनिन्छ तर, त्यो रगत र अन्य रगतमा केही पनि फरक छैन । धेरै परिक्षणहरु हुन्छ । परिक्षणमा केही फरक छैन् । हात काट्दाखेरी जुन रगत आउँछ त्यहाँ पनि त्यही आउने हो । त्यहाँ बग्ने रगत भनेको एउटा नयाँ क्रेसनको लागि बन्ने हो । नयाँ जीवन दिनका लागि भएको प्रक्रिया हो । यदि त्यो रगत अपवित्र हो भने अब संसारका हरेक जन्महरु, संसारका हरेक चिजहरु अपवित्र हुन् । किने भने हामी पनि त्यहीबाट जन्मिने हो । संसारको हरेक प्राणी त्यही प्रक्रियाबाट जन्मिने हो । यदि त्यो प्रक्रिया नै अपवित्र हो भने हामी सबै अपवित्र हौँ । त्यसैले मेरो विचारमा महिनावारीको रगतलाई अपवित्र भन्नुहुँदैन । यस विषयमा चाहीँ कानुन बनाउने देखि लिएर एकदमै ठुलो चेतना दिने देखि लिएर स्वास्थ्य शिक्षा, विद्यालयमा यसको लागि ठुलो काम गर्न जरुरी छ । यो अपवित्र होइन । यो त्यत्तिकै पवित्र छ जति हामीले सोचेका टीका अक्षताहरु छन् । त्यतिकै यो पवित्र छ ।
कर्णालीका विभिन्न क्षेत्रका महिला तथा किशोरीहरु देउता रिसाउने, अनिष्ट हुने भयले महिनावारी बार्ने चलनलाई निरन्तरता दिन बाध्य छन् । अब देउतालाई कसले सम्झाइदिने ?
यो चाही सबैभन्दा ठुलो समस्या छ । यहाँनेर गज्जब प्रश्नको उठान गर्नुभयो । कर्णालीका विभिन्न क्षेत्रमा महिला तथा किशोरीहरु देउता रिसाउने अनिष्ट हुने भयले अलग्गै गोठमा बस्ने यो एकदमै ठुलो समस्या छ । यसका दुईवटा मुख्य कारण छन् । एउटा त चलिआएको एउटा चलनलाई हामीले सजिलै छोड््न अप्ठेरो हँुदोरहेछ । अर्कोचाहीँ अशिक्षा हो । हाम्रो शिक्षा प्राणाली एकदमै सुस्त छ । हामीहरुले एकदमै चाडो शिक्षामा परिर्वतन गर्न सकेका छैनौँ । हामीले यो पनि बुझेका छैनौँ कि शिक्षामा जतिसक्दो चाडो जति ठुलो प्रगती ग¥यो, समाजका अन्य भागहरुमा पनि त्यत्तिकै त्यसरी नै प्रगती हुन्छ । शिक्षाले धेरै कुराहरु छाउपडीको कुराहरु, मर्यादित महिनावारीको कुराहरु देखि लिएर जति पनि कुराहरु छन् यसमा चाहीँ शिक्षा नै हो । र शिक्षा भन्ने कुरा विद्यालयमा मात्र हुँदैन । गाउँघरमा, घरघरमा गरिने जो शिक्षा छ । यसलाई गर्न जरुरी छ । त्यसैले शिक्षामा जोडदिनुपर्छ । यदि देउता रिसाउने भए, महिनावारी हुँदा छोएर रिसाउने भए देउताले नै महिनावारी किन बनाउथे होला र ? आफु रिसाउने काम किन गर्थे होलान् र ? सबै कुरा आफु खुशी हुने कुरामात्र गर्थे होइन र ? त्यसैले यो एकदमै गलत हो । हामीले सबैले यस्तो कुसंस्कारविरुद्ध आवाज उठाउनुपर्छ ।
महिनावारी विभेदलाई कसरी अन्त्य गर्ने ?
महिनावारी विभेदलाई कसरी अन्त्य गर्ने भन्ने कुरा बहुत गाह्रो कुरा रहेछ । हामी यति धेरै शिक्षित छौँ । हामीहरुकै गाउँघरमा पनि आफ्नै घरमा पनि यो विषयमा बोल्न हामीलाई गाह्रो हुने गरेको छ । सबैलाई गाह्रो भएको छ । हाम्रो पुस्तासम्म आउँदासम्म मैले व्यक्तिगत रुपमा महिनावारीलाई मान्दैन । त्यसै गरि मेरो छोराछोरीले मान्ने छैनन् । एउटा समाज त्यसरी नै परिर्वतन हुन्छ जस्तो मलाई लाग्छ । यसको अन्त्य सबैले यसलाई नमानेर सबैले यसलाई चाहीँ सामान्य रुपमा लिन जरुरी छ । र सबैभन्दा धेरै चाहीँ महिलाहरु आफैले महिनावारी हामी मान्दैनौँ भनेर महिलाहरुबाटै यो कुराको सुरुवात हुन जरुरी छ । यसमा एउटा प्राकृतिक रुपमा के हुँदोरहेछ भने एउटा कथा छ । कथा भन्नाले एउटा प्राकृतिक नियम छ । हामीले पुतली देख्छौँ नी, पुतली दुई प्रकारका हुँदा रहेछन् । एउटा ठुला पुतलीहरु जहाँ माथिमाथिसम्म आकाशमा उड्छन् । यि चाहीँ भाले पुतलीहरु हुँदारहेछन् । तिनका पखेटा शरिर हेर्दाखेरी ठुला माथि माथिसम्म उड्ने । अर्का अलि साना साना पुतली जो भुइँभुइँमा हुने रङ पनि धेरै नभएका नदेखिने पछि अध्ययन गर्दा थाहा भएछ माथि माथि उड्ने भाले पुतली रहिछन् तल तल बस्ने चाहीँ पोथी पुतली रहेछन् । हेर्दा खेरी सानो रङ नभएको बेरङ भएपनि त्यो भुइँमा भेटिने जुन पुतली छन् । प्रकृतिले कस्तो बनाएको रहेछन् भने चराले यिनिहरुलाई नदेखोस् यिनिहरुको आयु बढी होस् भनेर प्रकृतिले नै बनाइदिएको रहेछ । अनि माथि उड्ने पुतलीलाई चराले खावस भनेर यि भाले पुतलीहरु यिनिहरुको काम त्यति धेरै छैन यो सृष्टिमा । पोथीहरुको अलि धेरै काम छ । किनभने उनीहरुले अण्डा पार्छन । अण्डाको केहीसमयसम्म सुरक्षा गर्नुप¥यो भनेर त्यसरी बनाएको रहेछ ।
महिलाहरुको पनि त्यही हो । हामीहरुले बास्तबमा हेर्ने हो भने महिलाहरु पुरुष भन्दा बलियो छन् । प्राकृतिक रुपमा पनि बलियो छन् । अन्य रुपमा पनि बलियो छन् । तर, महिलाहरुलाई चाहीँ समाजले कमजोर भनेर सानैदेखि उनीहरुको दिमागमा पारिदिएको रहेछ । त्यसैले महिलाहरु हामी कमजोर छौँ भन्ने शव्द उनिहरको दिमागमा छ । यो एउटा शब्द ‘हामी कमजोर छौँ’ भन्ने यो एउटा शब्द जुन छ उनीहरुको दिमागमा छ, उनीहरुको सबैभन्दा ठुलो शत्रु नै त्यही हो । उनीहरुको ठुलो समस्या नै त्यही हो । हामी पुरुषभन्दा बलियो छौँ भन्ने एक वाक्य त्यसको सट्टामा त्यो भयो भने जो सत्य पनि हो । प्रकृतिक रुपमा भयो भने यस्ता कुसंस्कार हट्छन् भन्ने मलाई लाग्छ ।
महिनावारी विभेदलाई अन्त्य गर्न स्थानीय, प्रदेश र संघीय सरकार तथा स्वंयम समुदायको भूमिका के हुनुपर्छ ?
महिनावारी विभेदलाई हन्त्य गर्न चाहीँ सरकारहरु र विशेष गरि राजनीतिक नेतृत्वले पहिले आफुले मान्नुभएन । मेरो विचारमा उहाँहरु आफै मान्नुहुन्छहोला । उहाँहरुको चुनावी एजेण्डामा कसैले पनि राखेको भेटिदैन । म मर्यादित महिनावारीको बारेमा आवाज उठाउनेछु भनेर कोही पनि नेतृत्व त्यसरी आएका छैनन् । उही पुल बनाउछु, बाटो बनाउछु, मात्र भन्छन् । तर, सामाजिक पुलहरु, भावनात्मक पुलहरु बनाउने, मानविय विकासका पुलहरु बनाउनेतिर कसैको ध्यान छैन । त्यही भएर उहाँहरुले चाही आफुले आफ्नो चुनावी एजेण्डानै यही बनाउनु पर्छ । उहाँहरुले बनाएर लाग्यो भन्यो अन्त्य हुन्छ जस्तो लाग्छ । यसको योजनाहरु पनि बनाउने बेलामा चाहीँ । जस्तो महिनावारीको हामीले धेरै गोठहरु भत्कायौँ । भत्काएपछि धेरैजनालाई के लाग्यो भने भत्काएपछि बन्दैन होला भन्ने भयो । फेरी गोठहरु ठडिहाले । छाउपडीको जुन छाउहरु छन् ति सानासाना भवनहरु छन् त्यो त मान्छेको दिमागमा छन् नी । कहाँ घर बाहिरको त्यो कटेरोमा हुन्छ त्यो त दिमागमा छ । दिमागभित्रको भवन भत्काएपछि मात्र बल्ल बाहिरको भवन भत्किने हो । त्यसैले पहिले हामीले योजनाहरु बनाउँदा प्रत्येक स्टेप अनुसार योजना अनुसार गर्नुपर्छ । त्यसमा धामीझाक्रिलाई पनि समावेस गर्नुप¥यो । गाउँघरमा जो धामी पुजारी छन् उहाँहरुलाई पनि समावेस गर्नुपर्छ । जो कारणले गर्दा हामीलाई रोग लागिरहेको हुन्छ त्यो रोगको कारणलाई नमारेर लक्षणलाई मात्र मारेर हुँदैन ।
अन्त्यमा महिनावारीलाई मर्यादित बनाउने उपाए के के होलान् ?
महिनावारीलाई मर्यादित बनाउन सरकारले ठुलै योजना ल्याउनुपर्छ । यसमा अब महिनावारीको पहिलो वा दोस्रो दिन महिनाको दुई दिन महिनावारी छुट्टि दिनु प¥यो । दोस्रो चाहीँ जुन सामाजिक विभेद छ महिनावारी हुँदा विभेद गर्ने कोही व्यक्ति जेल गएको मैले थाह नै पाएको छैन । मान्छेहरु जेल पनि जानुप¥यो । मानिसहरुलाई कानुनी उपचार पनि हुनुपर्छ । कम्तिमा क्षतिपुर्ती पाएको, वा पाँच सात हजार जरीवाना तिराएको समाचारमा आओस् न त्यो पनि छैन । अनि यस्लाई हामीले स्वीकार गरिसक्यौँ । यसको कानुनी उपचार देखि लिएर यिनिहरुलाई बिदा दिने कुराहरु, सरसफाईको लागि छुट्टै सहयोग गर्ने कुराहरु गर्नुप¥यो । यसलाई मर्यादित बनाउनका लागि सबैभन्दा ठुलो कुरा महिनावारी भन्ने शब्द महिनावारी मात्र भन्नु हुँदैन । मर्यादित महिनावारी भन्ने शब्द प्रयोग सधै गर्नुप¥यो । र यसलाई भगवानसँग जोडेर, देविदेउतासँग जोड्ने जुन कामहरु भइरहेका छन् यसबाट पनि यसलाई मुक्त बनाउनुपर्छ । मुख्य कुरा भनेको यो महिनावारीको रगत अपवित्र होइन । यो पवित्र हो प्रकृतिक एउटा नियम हो भन्ने कुरा समाजलाई बुझाउन जरुरी छ ।
प्रतिक्रिया