छोरी पहिलोपटक महिनावारी भएपछि मनाइयो उत्सब

छोरी पहिलोपटक महिनावारी भएपछि मनाइयो उत्सब

– महिनावारी पाप होइन उत्सब हो ।


काठमाडौं : एक पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाएका छन् । यो खबर अन्यत्र कतैको नभएर नेपालकै हो । राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् ।

पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाई सहितको जमघट आयोजना गरेका थिए । कार्यक्रममा बालिकालाई सयपत्री फुलको माला र शिरमा क्राउन पहिर्याइएको थियो । बालिकालाई केक काट्न पनि लगाइयो । बालिका र बुवाआमाले एकअर्कालाई केक खुवाए । आगन्तुकहरूले बालिकालाई बधाई दिए । यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

उनले लेखेकी छन्, हाम्री छोरीको ११ वर्षमा पहिलो महिनावारी भयो ! महिनावारी पाप होइन उत्सब हो भनेर सानो जमघट गरेर मनायौ ! आत्मिय मनहरुमा हार्दिक आभार ! दिदीहरु राधा पौडेल र लक्ष्मी न्यौपाने, साथी लक्ष्मी बस्नेत र प्यारी बैनी लक्ष्मी पौडेल तथा नेपालका प्याडम्यान ज्ञान महर्जन ! मेरो परिवारको नेतृत्व गर्दै हौसला थप्नुहुने भाउजु, देउरानी र छोरीहरु र उपस्थित सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ कमेन्टमा अधिकांशले गज्जबको काम गरेको भन्दै प्रकाश र यशोदाको वाहवाही गरिरहेका छन् ।

उक्त उत्सबमा सहभागि भएकी लक्ष्मी न्यौपानेले फेसबुकमा लेखेकी छन्, ‘परिवर्तन सम्भव छ । पत्रकारिता एवं महिला अधिकारका क्षेत्रमा सक्रिय मित्र यशोदा अधिकारीज्यूले आफ्नो छोरीको पहिलोपटक महिनावारी भएको उपलक्ष्यमा उत्सव मनाउन आयोजना गर्नुभएको सानो भेटघाट कार्यक्रममा मलाई आमन्त्रण गरेर शुभकामना प्रदान गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । मित्र यशोदा अधिकारी, प्रकाश सिलवाल तथा छोरी प्रयत्न सिलवाललाई बधाइ तथा शुभकामना !  पहिलो पटकको महिनावारीलाई यसरी उत्सवको रुपमा मनाएको कार्यक्रममा म पहिलोपटक सहभागी भएको हुँ, समाजमा यस्ता उदाहरणीय कार्य हुँदै गए परिवर्तन अवश्य सम्भव छ ।’

प्रतिक्रिया