खुल्यो आयात प्रतिबन्ध

खुल्यो आयात प्रतिबन्ध

काठमाडौं : सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ। पुस महिनादेखि लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो। ‘अब पहिले प्रतिबन्ध लगाइएका सबै सामान आयत गर्न खुला गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भने।

विदेशी मुद्रा सञ्चिति जोगाउन भन्दै सरकारले विलासीका वस्तुहरूमा सूचीकृत गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात गर्न प्रतिबन्ध लगाइको थियो। गत वैशाखदेखि निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल आयातमा रोक लगाइएको थियो।

आयात प्रतिबन्धले मौद्रिक अवस्थालाई सुधारमा सहयोग पुर्याए पनि भन्सार राजस्वमा गम्भीर धक्का लागेकाले सरकार यो निर्णयमा पुगेको अर्थविज्ञ तर्क गर्छन्। राजस्वबाहेक गाडी र मोटरसाइकल छोडेर अन्य वस्तुको तस्करी मौलाउँदा प्रतिबन्धले सरकार अझै चुनौती थपिदिएको थियो। प्रतिबन्धले समस्या थपेपछि खुलाउन सरकारले मुख्यसचिवको संयोजकत्वमा कमिटी गठन गरेको थियो। उक्त कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गर्यो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको थियो।

उद्योगी/व्यवसायीले आयात प्रतिबन्धले अर्थतन्त्रमा असर गरेको जनाउँदै आएका थिए। सरकारले हचुवाका भरमा आयात रोकेको व्यवसायीले गुनासो गर्दै आएका थिए। नेपाल अटोमोबाइल्स एसोसिएसन(नाडा)ले आयात प्रतिबन्ध खुलाउन आन्दोलन गर्दै आएको थियो। आयात प्रतिबन्ध लगाउँदा व्यवसाय चौपट भएको भन्दै फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। ६ वटा वस्तु आयात खोले पनि ४ वटामा प्रतिबन्ध कायमै राखिएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले प्रतिबन्ध खुलाले व्यवसायी मानसिक दबाबबाट मुक्त भएको बताए। ‘त्यतिबेला सरकारले सोचेरै आयातमा प्रतिबन्ध लगाएको होला, श्रेष्ठ भन्छन्, ‘तर आयात लामो समयसम्म लगाउनाले अर्थतन्त्रमा चुनौती देखियो।’  ढिलै भएपनि प्रतिबन्ध खुलेकोमा व्यवसायी उत्साहित भएका छन्। तर, तरलता अभाव भएकाले बैंकबाट ऋण लिन सक्ने अवसर नहुँदा व्यवसाय चलायमान हुन कठिन हुने उपाध्यक्ष श्रेष्ठ बताउँछन्। ‘खुल्यो भनेर मानसिक दबाबमुक्त भइन्छ, अर्थतन्त्र संकटमै रहेकाले व्यवसाय फस्टाउँला भन्न सकिने अवस्था छैन।’ विस्तारै आयात हुनेमा व्यवसायीहरू आशावादी छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा सधैंका लागि आयात नगरेको बताउँदै आएका थिए। निश्चित समयका लागि मात्र बन्देज गरिएको केही समयअघि सार्वजनिक कार्यक्रममा बताएका थिए। आयात प्रतिबन्ध फुकुवा गर्नका लागि विदेशी मुद्रा कोष(आईएनएफ) लगायतले सरकारलाई दबाब दिँदै आएका थिए। आयात खुलाउनु सकारात्मक भए पनि विदेशी सामानमै भर पर्न नहुने अर्थाविद्हरू बताउँछन्। पछिल्लो समयमा व्यापारघाटा चुलिँदै गएको छ।

स्वदेशमा उत्पादन हुन नसक्दा धेरैजसो रकम सामान आयातमै बाहिरिएको छ। अर्थविद् ज्ञानेन्द्र अधिकारी नेपालमा संभावना भएका क्षेत्रमा उत्पादनमा प्राथमिकता दिनुपर्ने बताउँछन्। सरकार तथा निक्षी क्षेत्रले मेक इन नेपाल र मेड इन नेपालजस्ता अभियान थाले पनि उत्पादन वृद्धि हुनुको सट्टा उत्पादनजन्य उद्योग धराशायी हुँदै गएका छन्। आयात प्रतिबन्धका कारण यसअवधिमा ३० अर्ब राजस्व गुमेको सरकारी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया