कोभिडको त्रास बढेसँगै स्वास्थ्य सजगता अपनाउन आग्रह

कोभिडको त्रास बढेसँगै स्वास्थ्य सजगता अपनाउन आग्रह

 

सुर्खेत :  कोभिड—१९ को नयाँ भेरियन्टको त्रास बढेसँगै जिल्ला प्रशासन कार्यलय सुर्खेतले पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ ।

बुधबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले छिमेकी मुलुक भारतलगायतमा कोभिडको नयाँ भेरियन्ट (वी एफ—७)को भित्रिएको समाचार आइरहेको बेला कर्णालीको प्रवेशद्वारसँगै सुर्खेतमा पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको नयाँ भेरियन्टको त्रास बढेको बेला पुनः स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे । उनले हातधुने बानी, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न छोडिएको, भीडभाड बढेको हुँदा अव पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको बताए।

साथै रिजालले संचारमाध्यमहरुले पनि सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरुले पनि स्वास्थ्य सतर्ककता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव दिए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेटलगायत सवै आवश्यक बस्तुहरु पनि अहिले कम हुँदै गएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिँदै कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताए ।

प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिंगल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सिर्जकल मास्क र ६० हजार थान एन—९० मास्क, ४७५ थान अक्सिजन सिलिण्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र २ लाख ट्याव्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताउँदै नागरिकलाई कोभिडको नयाँ जोखिम आएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

प्रतिक्रिया