गृहमन्त्री र राष्ट्रपतिले सत्तारुढ दलहरुबीच समस्या हुँदैन : ओली

गृहमन्त्री र राष्ट्रपतिले सत्तारुढ दलहरुबीच समस्या हुँदैन : ओली

 

काठमाडौँ :  पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनले सत्ता साझेदार दलहरुबीच खटपट नहुने प्रष्ट पारेका छन् ।

धेरैले राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले समस्या ल्याउने बताइरहेका बेला ओलीले यी दुई प्रकरणले सत्ता गठबन्धन र सरकार संकटमा नपर्ने प्रष्ट पारेका हुन् । विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले भने, कुन कुन पार्टीले के के लिने भनेर सत्ता गठबन्धनभित्र भएको सहमति तपाईंहरुलाई थाहा छ । त्यसैअनुसार अगाडि जानुपर्छ । यो विषयमा कुनै समस्या पनि छैन । सत्तारुढ दलहरुबीच खटपट हुने जस्तो मलाई लाग्दैन ।

गृहमन्त्री यसअघि नै राष्टिय स्वतन्त्र पार्टीलाई दिएकाले सहमतिबाट दलहरु भाग्न भने नहुने ओलीको भनाइ छ । ओलीले सत्ता पक्षबीच यसअघि भएको सहमतिविपरीत यदि रास्वपकालाई गृहमन्त्री नदिने, एकलौटी र छुट्टै निर्णय हुने भन्ने विषय आएको भए त्यसले समस्या निम्तिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्ण पाठ नआएकोले गहमन्त्री दिन इन्कार गर्नु भएको जस्तो देखिन्छ नि ?, भनेर पत्रकारले राखेको जिज्ञासामा ओलीले भने, पाठ भइसक्यो, कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो, पूर्णपाठ ?

ओलीले राष्ट्रिय सहमतिको नाममा कांग्रेसले राष्ट्रपति मागेर राजनीतिक संस्कार नदेखाएको टिप्प्णी गरेका छन् । तर उनले कांग्रेसले राष्ट्रपति हामीलाई दिनुपर्छ, हामीले पाउनु पर्छ भन्नु अनौठो नभएको बताए।

उनले राष्ट्रपतिको उम्मेदवार अहिलेको सत्ता पक्षबाटै हुने पनि प्रष्ट पारे ।

प्रतिक्रिया