रास्वपाको बैठक आज पनि

रास्वपाको बैठक आज पनि

 

काठमाडौँ :  गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्दै छ । शनिबार राति बसेको बैठक निष्कर्षविहीन भएपछि रास्वपाले आज पनि बैठकलाई निरन्तरता दिने भएको हो ।

बैठक बिहान ११ बजे बस्नेछ । बैठकले गृह मन्त्रालय नपाए सरकारमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको भनाइ छ । गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर २ दिनको समय मागेको बताएका थिए । तर त्यो २ दिनको अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् । अब आजको बैठकबाट रास्वपाले के निर्णय गर्छ, प्रतीक्षाको विषय बनेको छ ।

नागरिकता मुद्दाका कारण गृहमन्त्री पदबाट हट्न बाध्य रास्वपा सभापति रवि लामिछानेले प्रक्रिया पूरा गरी नेपाली नागरिकता लिएपछि त्यही पदमा दोहोरिन चाहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आउन बाँकी तथा राहदानी विवाद पनि कायमै रहेकाले रविलाई दोहोर्याउने मनसायमा छैनन् । सत्ता साझेदार नेकपा एमालेले भने रविलाई नै गृह मन्त्रालय दिन दबाब दिइरहेको छ ।

प्रतिक्रिया