औषधि बोकेर सल्यान पुगे कृषि मन्त्री शर्मा
सल्यान : घर पालुवा पशु चौपायामा रेविज रोगको महामारी फैलिन थालेपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले सल्यानका दुई पालिकामा औषधि हस्तान्तरण मा पुगेका छन् ।
केही दिन पहिले जिल्लाको बन गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिकामा पशु चौपायामा रेबिज रोगको महामारी देखिएको र यसको भयावह हुने अवस्था सृजना भएको खबर पाएपछि शर्माले औषधि र भ्याक्सिन ल्याएर पालिकालाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री शर्माले औषधी लिएर बनगाड कुपिन्डे नगरपालिकाको पशु सेवा शाखालाई ३ सय र बागचौर नगरपालिकाको पशु सेवा शाखालाई ३ सय डोज भ्याक्सिन र औषधी हस्तान्तरण गरेका हुन् । शारदा नगरपालिकाको पशु सेवा शाखामा भने औषधिको अभाव नभएको खबर प्राप्त भएको र उपलब्ध भ्याक्सिन र औषधि बाट उपचार भइरहेको छ ।
केही दिन पहिले स्थानीयले पालेका पशु चौपाया र छाडा पशु चौपाया अज्ञात रोगले मर्न थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले नमुना सङ्कलन गरी पशुपक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो । कार्यालयले जिल्लाको तिन पालिकामा रेबिज रोगको अवस्था भयावह देखिन थालेको र स्थानिय तहहरूमा औषधि र भ्याक्सिनको अभाव भएको खबर गरेपछि समस्या समाधानको लागि तत्काल औषधि सहित आएको मन्त्री शर्माले बताए । समस्या भएको अन्य स्थानका लागि पनि तत्काल उपचारको व्यवस्था गरिने मन्त्री शर्माले बताए ।
एक हप्ता पहिले फैलिएको अज्ञात रोगले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा ५ छाडा गाई र दुई कुकुर मरेका थिए भने बागचौर नगरपालिका क्षेत्रमा पशु चौपाया बिरामी परेका थिए । बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना सङ्कलन गरी सुर्खेत पठाइएको बन गाड कुपिण्डे नगरपालिकाका पशु शाखा प्रमुख विना राम रावतले बताउनु भयो । रोग फैलिए पनि औषधी अभाव भएकाले प्रदेशमा माग गरिएको उनले बताए ।
बागचौर नगरपालिका क्षेत्रमा भने बौलाहा कुकरले टोकेर पशु बस्तु बिरामी भएपछि रेबिज भ्याक्सिन माग गरिएको पशु शाखा प्रमुख टेक बहादुर बस्नेतले बताए । उनका अनुसार बिरामी पशुको नमुना सङ्कलन गरी प्रदेश प्रयोगशालामा पठाइएको छ
प्रतिक्रिया