मधेशमा माओवादी पनि सहभागी हुँदै

मधेशमा माओवादी पनि सहभागी हुँदै

जनकपुरधाम :  मधेश प्रदेश सरकारमा तत्काल एउटै मन्त्रालय लिएर नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । माओवादीलाई तत्काल उद्योग, पर्यटन तथा वन मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ । माओवादीले सांसद सुनिता यादवलाई मन्त्री र मो रहवर अन्सारीलाई राज्यमन्त्री बनाउन लागेको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रीमा यादव र राज्यमन्त्रीमा अन्सारीलाई नियुक्त गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्राचार गरिसकेको बुझिएको छ । सांसद यादवले भोलि शपथग्रहण तय भएको पनि जानकारी दिइन् । माओवादीले २ मन्त्रालय दिनुपर्ने माग गरेको थियो । तर मुख्यमन्त्री यादवले एउटा मन्त्रालय मात्र दिने भनेपछि माओवादी सरकारमा सहभागी भएको थिएन ।

सो विषयमा सांसद यादवले भनिन्, ‘अहिले केही समस्या देखिएको छ । तत्काल एउटा मन्त्रालय लिएर सरकारमा जान्छौं । तर एउटा अझै मन्त्रालय दिनुपर्छ । यो विषयमा छलफल भइरहेको छ ।’ मन्त्री बन्न लागेका उनी शहिद रामवृक्ष यादवको छोरी हुन् । उनलाई माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै मन्त्री बनाउन भनेपछि संसदीय दलका नेता भरत साह असन्तुष्ट बनेका छन् ।

संसदीय दलका नेता साह स्वयंम मन्त्री बन्न चाहेका थिए । साह प्रदेशका पूर्व गृह तथा सञ्चार मन्त्री पनि हुन् । राज्यमन्त्री बन्न लागेका अनुसारी पर्सा क्षेत्र नम्वर १ (१)बाट निर्वाचित साँसद हुन् ।

प्रतिक्रिया