ग्रेडिङ सिस्टमले हरायो विद्यार्थीमा पढ्ने बानी

ग्रेडिङ सिस्टमले हरायो विद्यार्थीमा पढ्ने बानी

रुकुम पश्चिम : रुकुम पश्चिमका सरोकारवालाहरुले शैक्षिक सुधारमा जोड दिएका छन् । मुसिकोट खलंगामा भएको जिल्लाका शैक्षिक समस्या, सुधारका उपायहरु र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले शैक्षिक सुधार अहिलेको मुख्य चुनौतीका रुपमा रहेको बताएका हुन् ।

विभिन्न कारणले विद्यार्थीहरुमा पढ्ने बानीको विकासमा ह्रास आएको र यसले समग्र शैक्षिक स्थितिमा असर गरेको सरोकारवालाहरुको भनाई छ । मुख्य गरी ग्रेडिङ प्रणालीले विद्यार्थीहरुमा पढ्ने बानी हट्दै गएकोले यसतर्फ सोच्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउनु पर्ने, शैक्षिक विकास भनेर भौतिक संचरना मात्र निर्माण गर्ने प्रवित्तिको अन्त्य हुनुपर्ने, विद्यालयमा भइरहेको राजनीतिकरणलाई रोक्नुपर्ने, विद्यार्थीहरुमा नैतिक र व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने समेत सहभागीहरुले सुझाव दिएका छन् ।

शैक्षिक स्तरलाई बृद्धि गर्न विद्यालयमा दण्ड र जरिवानाको समेत व्यवस्था गर्नुपर्ने लगायतका सुझाव प्राप्त भएको शैक्षिक सुधार अभियान कार्यदलका मुसिकोट नगरपालिका संयोजक मुकुन्दप्रसाद शर्माले बताए । उनका अनुसार कार्यक्रममा कार्यदलको तर्फबाट विभिन्न ५२ वटा शैक्षिक सुधारसंग सम्बन्धित प्रश्नहरु राखिएको थियो ।

कार्यक्रमबाट ३ वटा प्रश्न थप भएको शर्माले बताए । उनका अनुसार यिनै प्रश्नमा छलफल चलाएर कार्यदलले जिल्लाको समग्र शैक्षिक समस्या, सुधारका उपाय र समाधानका लागि सुझाव सहितको प्रतिवेदन बनाउने छ । आज मुसिकोटबाट कार्यदलले काम थालेको र जिल्लाका सबै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम संचालन हुने संयोजक शर्माले बताए । जिल्ला भरमा कार्यक्रम सकिएपछि एकीकृत प्रतिवेदन तयार पार्ने उनको भनाई छ । ‘सबै स्थानीय तहमा कार्यक्रम हुन्छ, सुरुमा स्थानीय तह अनुसारको छुट्टा छुट्टै प्रतिवेदन तयार हुन्छ, उनले भने–सबै स्थानीय तहमा कार्यक्रम सकिएपछि भने सबै पालिकाको प्रतिवेदनलाई समेटेर एकीकृत प्रतिवेदन तयार हुन्छ उनले भने ।’

आजको कार्यक्रममा उठेका विषय र सुझावलाई समेटेर मुसिकोट नगरपालिकाको प्रतिवेदन तयार हुने बताइएको छ । कार्यदलका मुसिकोट संयोजक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्का, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनमगर, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्राधानाध्यापक, प्राध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी लगायत विभिन्न सरोकारवालाहरु निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम मुसिकोट खलंगा बहुमुखी क्याम्पसको हलमा संचालन भएको थियो ।-कखरा

प्रतिक्रिया