आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

 

काठमाडौँ : सरकारले आज फागुन १ गते पर्ने जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले फागुन १ गते (आज) जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको हो । वि। सं. २०५२ फागुन १ गते सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको सरकारको निष्कर्ष छ । गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका भन्दै बिदा दिइएको हो ।

जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने गरेको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो । फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि विभिन्न पालिका तथा कर्णाली र बागमती प्रदेश सरकारले गरिसकेका छन् ।

प्रतिक्रिया