पिचाशेश्वर शिव मन्दिरमा १०८ शिवलिङ्ग निर्माण

सल्यान : जिल्लाको छायाँक्षेत्रमा पर्ने पिचाशेश्वर शिव मन्दिरमा १०८ शिवलिंङ्ग निर्माण गरिएको छ । जिल्लाको क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ मा पर्ने छायाँक्षेत्र, छायाँनाथमा रहेको पिचाशेश्वर शिव मन्दिरमा निर्माण गरिएका १०८ शिवलिंङ्ग परिक्रमा स्थलको विविध प्राण प्रतिष्ठा एवम् पुजा आरम्भ गरिएको हो ।
२००९ सालमा निर्माण भएको यस मन्दिरमा छत्रेश्वरी गाउँपालिका ६ गोदे मुल घर भएका श्रेष्ठ परिवारका तर्फबाट मन्दिर परिसरमा १०८ शिवलिंङ्ग निर्माण गरिएको समाजसेवी अनुवमसिंह श्रेष्ठले बताए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो मन्दिरको संरक्षण र प्रचारप्रसार गर्ने लक्ष्यका साथ मन्दिर परिसरमा शिवलिंङ्ग निर्माण गरिएको उनले बताए ।
यस मन्दिरको महत्व र गरिमा छायाँढुंगा सँग जोडिएको छत्रेश्वरी सतीपीठ क्षेत्र विकास समितीका अध्यक्ष प्रेम बहादुर भण्डारीले बताए । उनले छत्रेश्वरी मन्दिर, पिचाशेश्वर शिव मन्दिर र शंखपार्कलाई सँगै जोडेर त्रिबेणीधामका रुपमा विकास गर्न आवश्यक रहेको बताए । यसका लागि तीनै क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ ।
प्राण प्रतिष्ठा तथा पुजा आरम्भ कार्यक्रममा बोल्दै सल्यान प्रदेशसभा ख बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले धार्मिक तथा पर्यटन क्षेत्रको विकास र प्रचारप्रसार आजको आवश्यकता भएको बताए । उनले यो क्षेत्र हिन्दु धर्मालम्विको आस्थासँग मात्रै नभएर सिंगो पर्यटन क्षेत्रसँग पनि जोडिएकाले पर्यटन प्रर्वद्धनलाई आर्थिक उपार्जनसँग पनि जोड्न आवश्यक रहेको बताए ।
कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनार, छत्रेश्वरी गाउँपालिका वडा नं. -६ का वडाअध्यक्ष टिकाराम बुढा लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इश्वरी बहादुर राणाले गरेका थिए । सो अबसरमा लोपोन्मुख पैसेरी लगाएतका नृत्यहरु पनि प्रर्दशनी गरिएको थियो ।-सल्यानटुडे
प्रतिक्रिया