कालिका माध्यमिक विद्यालयमा थालियो नयाँ भवन निर्माण

कालिका माध्यमिक विद्यालयमा थालियो नयाँ भवन निर्माण

सल्यान : जिल्लाको शारदा नगरपालिका–७ कजेरीमा रहेको कालिका माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण थालिएको छ । कर्णालीको २५ लाख बजेटबाट विद्यालयको प्रांगणमा नयाँ भवन निर्माण थालिएको हो ।  शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले भवनको शिलान्यास गरेका थिए । भवन अभावका कारण टिनको टहरोमा पढ्दै आएका विद्यार्थीलाई लक्षित गरी भवन निर्माण थालिएको हो ।

गत मंसिर २३ गते विद्यार्थीहरुको समस्या समेटिएको टहरामा बसेर पढाइ शीर्षकमा समाचार सल्यान टुडे डटकममा प्रकाशित भएको थियो । अहिले कर्णाली प्रदेश सरकारको बजेट लगाएर नगरपालिकाले दुईकोठे पक्की भवन निर्माणको शुरूवात गरिएको छ । नगरप्रमुख भण्डारीले अहिले विद्यालयमा एउटा भवन निर्माण थालिएको र आवश्यकता भएको खण्डमा थप भवन निर्माणको लागि पहल गरिने बताए ।

‘विद्यालय प्रशासनले थाहै नदिएर पुराना भवन भत्काएछ, विद्यार्थीले भ¥याङमा बसेर नै पढिरहेका छन् भन्ने थाहा पाएपछि नगरपालिकाले नै तत्कालको लागि टिनको टहरा बनाएको हो’– मेयर भण्डारीले भने– ‘अहिले दुई कोठे भवन निर्माण गर्न थालिएको छ, नपुगेको खण्डमा थप भवन निर्माणको ब्यवस्था मिलाउँछौं ।’

जीर्ण अवस्थामा रहेका विद्यालय भवन भत्काइएपछि विद्यार्थीहरुले टहरामा बसेर पढ्दै आएका छन् । पुराना र जीर्ण भवन भत्काइएपछि कक्षाकोठाको अभावमा कक्षा ३, ५ र ७ का विद्यार्थीहरुले टहरामा बसेर पढ्दै आएका हुन् । टहरामा बसेर अध्ययन गर्दा निकै असहज हुने गरेको विद्यार्थीहरु बताउँछन ।

विद्यालय प्रशासनले भने जीर्ण अवस्थामा रहेका विद्यालयका भवन भत्काइँदा कक्षा कोठाको अभाव भएको र वैकल्पिक बसाइको लागि टहरा बनाइएको जनाएको छ । विद्यालय भवन अढाई महिनाभित्र निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी विएच एम कन्स्ट्रक्सनले जनाएको छ । २०२१ सालमा स्थापना भएको यस विद्यालयमा अहिले दुई सय ५८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया