सल्यानमा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया शुरु गरिने

सल्यानमा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया शुरु गरिने

सल्यान  : सल्यानमा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया शुरु गरिने भएको छ । आगामी बैशाख १० गते चितवन–२ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि जिल्लामा पनि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने भएको हो ।

मतदान हुने मिति भन्दा अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रियाका लागि जिल्लामा यही फागुन २२ गते देखी ३० गतेसम्म समय तोकिएको छ । यसका लागि जिल्लाका ८३ वटै वडामा यही २२ गते मतदाता नामावली प्रकाशन गर्ने र २३ गतेदेखी २५ गतेसम्म त्रुटि सच्याउनको लागि निवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

बुधबार खलंगामा मतदाता नामावली अध्यावधिक (दावी विरोध समेत) कार्यक्रम २०७९ मा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायत कामका गरिने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नका लागि मतदाता नामावली अध्यावधिकको काम गर्न आवश्यक रहेको बताए । । यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले निर्वाचनको समयमा मात्रै नभएर अन्य समयमा पनि मतदाता नामावली बनाउने, त्रुटि भए सच्याउने लगाएतका कार्य सञ्चालन गरिनुपर्ने बताए ।

प्रतिक्रिया