गर्भवतीलाई गाउँमै निःशुल्क अल्ट्रासाउन्ड सेवा

गर्भवतीलाई गाउँमै निःशुल्क अल्ट्रासाउन्ड सेवा

सल्यान : सल्यानमा ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी अल्ट्रासाउन्ड सेवा प्रदान गर्न थालिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाले गाउँमै सेवा दिन थालेका हुन ।

बनगाड कुपिण्डे नगरपालिका ५ च्युरामा रहेको बाझकोट स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि नगरपालिकाका गर्भवती महिलाहरू खुसी भएका छन् ।

गर्भवती महिलाहरूलाई अल्ट्रासाउन्ड गर्न सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउन्ड अनिवार्य रहेको उनको भनाई छ ।

सुत्केरी हुन अघि गर्भावस्थामा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्स-रे सेवाका लागि सदरमुकाम वा बाह्रय जिल्लासम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अव हटेको छ पोखरेलको भनाई छ । उनले भने, उपचार पनि महँगो, गर्भवतीलाई सदरमुकाम सम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्य चौकीबाटै घुम्ती रुपमा यो सेवा दिने निर्णय गरेका हौँ’।

गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुःक ग्रामीण अल्ट्रासाउन्ड सेवाले स्थानीय महिलाहरू लाभान्वित हुने मेयर कर्ण बहादुर बुढाथोकीले बताए । उनले भने ‘अल्ट्रासाउन्ड गर्नकै लागि सदरमुकाममा रहेको सल्यान जिल्ला अस्पताल र सुर्खेत जानु पर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ ।’

नगरपालिकालाई शून्य होम डेलिभरी पालिका बनाउने अभियानमा आफूहरू लागेका प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीले बताए । जन्मनु अघि नै बालबालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निःशुल्क सञ्चालन गरिएको उहाँले बताउनु भयो । ‘बालबालिका सबै स्वस्थ जन्मिउन भन्ने उद्देश्यले यो सेवा थालेका हौँ ’ उनले भने ।

प्रतिक्रिया