गरीबी र पारिवारिक विग्रह नै बालश्रमको प्रमुख कारण

गरीबी र पारिवारिक विग्रह नै बालश्रमको प्रमुख कारण

काठमाडौँ :  नेपालमा बालश्रमको अन्त्य नहुनुको प्रमुख कारण गरीबी र पारिवारिक विग्रह भएको एक अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकामा श्रम गरिरहेका करिब ४ सय जनामा गरिएको अध्ययनको निष्कर्षबाट गरीबी र पारिवारिक विग्रह नै बालश्रमको प्रमुख कारण रहेको औंल्याएको हो ।

महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था क्लारिसा नेपालले गरेको एक अध्ययनको निष्कर्षका रुपमा गरीबी र पारिवारिक विग्रह नै बालश्रमको प्रमुख कारण रहेको उजागार गरिएको छ । सोमबार पत्रकार सम्मेलन गरेर उक्त संस्थाले अध्ययनको निष्कर्ष निकालेको हो ।

अध्ययनका क्रममा संस्थाले करिब ४ जना जनामा अध्ययन गरिएको र अध्ययनमा २५ वर्षसम्मका युवा युवतीलाई समेत समावेश गराइएको थियो । अध्ययनका क्रममा काठमाडौंमा रहेका वयस्क मनोरञ्जन क्षेत्रमा निकृष्ठ प्रकारका बालश्रम, शोषण र यौनजन्य दुर्व्यवहार रहेको औंल्याएको छ ।

संस्थाले काठमाडौँका डान्सबार, क्याबिन रेष्टुरेण्ट, स्पा तथा मसाज पार्लर, दोहोरी रेष्टुरेण्ट र साना खाजा घर तथा अन्य वयस्क मनोरञ्जन केन्द्रमा पुगेर त्यहाँ कार्यरत बालबालिका तथा युवा युवतीसँग व्यक्तिगत कुराकानी गरी अध्ययन गरेको थियो । उपत्यकाका गोंगबु, कलङ्की, ठमेल, दरबारमार्ग, सुन्धारा, कोटेश्वर, मनोहरा लगायत क्षेत्रका प्रमुख वयस्क मनोरञ्जन स्थलहरुमा अध्ययन गरिएको संस्थाले जनाएको छ ।

अध्ययनका क्रममा नेपालका ग्रामिण क्षेत्रबाट बालबालिका तथा युवतीहरु कसरी काठमाडौँका श्रम बजार वा वयस्क मनोरञ्जन केन्द्रसम्म आइपुग्छन् र किन आउँछन् भन्ने विषयमा समेत अध्ययन गरेको थियो । अध्ययनले परिवारको आर्थिक अवस्था र पारिवारिक विग्रह र काठमाडौँमा काम गर्ने बालबालिकामा अन्तरसम्बन्ध रहेको तथ्य औंल्याएको छ ।

अध्ययनका क्रममा परिवारको कमजोर आर्थिक अवस्था अर्थात् गरीबी र पारिवारिक विग्रह नै बालबालिकाहरु श्रम बजारमा आइपुग्ने प्रमुख कारण रहेको अनुसन्धानमा संलग्न सम्झाना भुजेलले बताउनुभयो । अध्ययनका क्रममा वयस्क मनोरञ्जन केन्द्रमा भेटिएका बालबालिकाहरु किन काठमाडौँ आएको भन्दा अधिकांशले घरको आर्थिक अवस्था कमजोर भएको कारण काठमाडौँ आउनुपरेको बताएका छन् । कसैको परिवारमा अभिभावकको मृत्यु हुनु, बुवा वा आमा रोगी हुनु आदि कारणले परिवार पाल्नका लागि बालश्रम गर्ने गरेको पाइएको छ ।

त्यसैगरी परिवारमा मदिराको लत लागेका कारण गरीबी तथा झैझगडाहरु भइरहने, बुवा वा आमाको सम्बन्धविच्छेद र दोस्रो विवाह लगायतका कारणले पनि बालबालिकाहरु विद्यालय छाडेर कामको खोजीमा काठमाडौँ आइपुग्ने गरेको अध्ययनको देखाएको छ ।

काठमाडौँमा रहेका वयस्क मनोरञ्जन केन्द्रमा काम गर्ने धेरै बालबालिका र युवा युवतीहरुले विद्यालय शिक्षा पूरा नगरेको समेत अध्ययनमा देखिएको छ । संस्थाका अनुसार गरीबी, पारिवारिक कलह र विग्रह, परिवारका सदस्यको विछोड आदि कारणले बालबालिकाले विद्यालय शिक्षा पूरा गर्न नपाएको र यस्ता क्षेत्रमा काममा आउने गरेको पाइएको छ ।

वयस्क मनोरञ्जनको क्षेत्रमा काम गर्ने अधिकांश बालिका तथा युवतीसमेत यौनजन्य हिंसा र दुर्व्यवहारमा परेको अध्ययनमा देखिएको छ । त्यस्ता क्षेत्रमा काम गर्ने किशोरी वा युवतीहरु कुनै न कुनै प्रकारको यौनजन्य हिंसामा परेको उनीहरुले आफ्नो कथा सुनाएको संस्थाका राष्ट्रिय निर्देशक सुधिर मल्लले बताउनुभयो । कतिपय किशोरीहरु काठमाडौँमा कामकै लागि बसिरहँदा आफन्तबाट नै बलात्कारमा परेको समेत मल्लले बताउनुभयो ।

संस्थाका अनुसार वयस्क मनोरश्ञ्जनको क्षेत्रमा काम गर्ने बालबालिका तथा किशोरी र युवतीसमेत निकृष्ठ प्रकृतिको बालश्रम र श्रम गर्न बाध्य रहेको अध्ययनमा उल्लेख छ ।-रातोपाटी

प्रतिक्रिया