कास्कीमा भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ

कास्कीमा भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ

पोखरा — दलितले भान्सा छोएको भन्दै व्रतबन्धको भोजमा भतेर घोप्ट्याउने कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेलाई समेत दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पोखराका नारायण परियारले रिभानका चार जनाविरुद्ध जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएपछि लामिछाने लगायत सोही ठाउँका स्थानीय सरिता लामिछानेलाई गरिएको प्रहरीले जनाएको छ ।

दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । भागेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

जातीय छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०७५ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले जिल्ला प्रहरी कार्यालय कास्कीका जाहेरी दिनुभएको थियो । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका नारायणले फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुग्नुभएको थियो ।

त्यहाँ ब्रतबन्धमा बाेलाइए अनुसार सहभागी भएर सन्तोष परियारका दुई छोरा साहिल र समीरलाई दानदक्षिणा गरेर भतेरमा पुगेको बेला स्थानीय सरिता लामिछानेले थर सोधेपछि नारायणले आफू परियार भएको बताएपछि ‘दमाई’हरुका लागि छुट्टै भान्सा छ भन्दै २० मिटर परै रोकिएको कारण जातीय विभेदको मुद्दा दिएको उजुरीमा उल्लेख छ ।

नारायणले छुट्टाछुट्टै भान्सा हुनु गलत रहेको प्रतिक्रिया दिएर भतेरतिर अघि बढेपछि त्यतिबेलै वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्टाइदिए । स्थानीय २७ वर्षीय सुजन लामिछाने ‘दमाईहरु बाहुनको भान्सामा आउने’ भन्दै बम्किएका थिए ।

फागुन २५ गते जातीय विभेद घटना सम्बन्धमा फागुन २७ गते उजुरी परे पनि प्रहरीले अनुसन्धानको लागि व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गर्ने सन्तोष परियार र बाहुनहरुलाई छुट्टै भान्सा प्रवन्धन गर्ने सुजन लामिछाने चैत १२ मा पक्राउ गरेको तर वडा सदस्य लामिछाने र स्थानीय सरिता लामिछाने भागेका थिए ।

दलितले भतेर छोएको भन्दै भतेरका खाद्य बस्तु पोख्ने मुख्य व्यक्ति वडा सदस्य लामिछाने र बाहुनहरुको छुट्टै भान्सामा मुख्य व्यवस्थापक सरिता लामिछानेलाई पक्राउ गर्नुपर्ने भन्दै राष्ट्रिय दलित आयोग र नागरिक समाज संस्थाहरुको चर्को दवावपछि मुख्य आरोपितहरुलाई प्रहरी आइतवार पक्राउ गरेको हो ।

 

प्रतिक्रिया