राप्रपाद्धारा कर्णालीमा प्रतिपक्ष दलको हैसियत माग

राप्रपाद्धारा कर्णालीमा प्रतिपक्ष दलको हैसियत माग

सुर्खेत –  कर्णालीमा राप्रपाले प्रतिपक्ष दलको हैसियत माग गरेको छ । नेपाली कांग्रेस, नेकपा एमालेले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएसँगै राप्रपाले प्रतिपक्ष दलको हैसियत माग गरेको हो । यसअघि नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका गर्दै आएको थियो । प्रदेशसभाको ११ औँ बैठकमा राप्रपा सांसद सन्तोषी शाहीले राप्रपालाई प्रतिपक्ष दलको सिटको व्यवस्थापन गरिदिन माग गर्नुभयो ।

गत शुक्रवार मुख्यमन्त्री राजकुमार शर्मालाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए । ‘सबै दलले सरकारको पक्षमा मतदान गर्ने, सरकारको मन्त्री भइरहने अनि ती दलहरू प्रतिपक्षको रूपमा कसरी रहन सक्छन्,’ सांसद शाहीले प्रश्न गर्नुभयो । ‘दुनियाँमा कहीँ नभएको जात्रा हाडिगाउँमा’ भनेजस्तै संसदीय व्यवस्थामा यस्तो प्रवृत्ति कहिँपनि नभएको शाहीको भनाइ छ ।

‘सत्ता पक्ष पनि प्रतिपक्ष हुने भन्ने कुरा संविधान, ऐन, कानुन विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन हो,’ शाहीले भन्नुभयो,‘देश विधिले चलाउन सक्नुपर्छ वास्तवमा कर्णालीको प्रतिपक्ष दल राप्रपा हो, राप्रपालाई प्रतिपक्ष दलको रूपमा सदनमा सिटको व्यवस्था होस् भन्ने माग गर्दछु ।’

प्रतिक्रिया