रामेछाप कारागारमा एक बन्दीकाे मृत्यू !

रामेछाप कारागारमा एक बन्दीकाे मृत्यू !

मुद्दाकाे पुर्पक्षका लागि रामेछाप कारागारमा रहेका एक बन्दीको शुक्रबार मृत्यू भएको छ । लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई जिल्ला कारागार कार्यालय रामेछापमा बन्दी जीवन बिताउँदै आउनुभएका ५२ वर्षीय बीरे दर्जीको शुक्रवार मृत्यू भएको जेलर रामलाल तामाङ्गले जानकारी दिनुभयो ।

कारागारमा दिउँसो एक बजेतिर बिरामी पर्नुभएका उहाँको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको जेलर तामाङले बताउनुभयो । ‘अकस्मात् चक्कर लागेपछि कारागारकै स्वास्थ्यकर्मीले उहाँका सामान्य स्वास्थ्य परीक्षण गरी थप उपचारको लागि नजिकैको जिल्ला अस्पताल पठाएकोमा १ः४५ बजेतिर मृत्यु भएको खबर आयो’ तामाङले भन्नुभयो ।

कर्तव्य ज्यान मुद्दाको पुर्पक्षको लागि रामेछाम जिल्ला अदालतको आदेश बमोजिम दर्जीलाई फागुन ४ गते रामेछाप कारागार थुनामा पठाएको थियो । ‘यस अघि उहाँमा कुनै स्वास्थ्य समस्या थिएन, हृदयघात भएर मृत्यू भएकाे भन्ने जानकारी पाएका छाैं’  लिखु तामाकोसी गाउँपालिका–३ का वडाध्यक्ष गाेपाल तामाङले बताउनुभयाे ।

मृतकको शव जिल्ला अस्पताल रामेछापमा पोष्टमार्टम भयाे । दर्जीको मृत्यूको जानकारी पाएपछि दुई छोराहरु पुश्कल (२५) र रमेश (२२) समेत आफन्तहरुकाे राेहवरमा पोष्टमार्टमपछि परिवारजनले शव बुझेर मन्थली नगरपालिका-१ रनजर खाेला घाटमा हिन्दू परम्परा अनुसार दाहसँस्कार गरेका रामेछापका प्रहरी इञ्चार्ज डीएसपी होमबहादुर पराजुलीले ज्वालासन्देशलाई जानकारी दिनुभयो ।

छिमेकी गाउँमा विवाहको बाजा बजाउन जानुभएका फर्किँदा संगै आउनुभएका ६७ वर्षीय साने भन्ने रामबहादुर दर्जीे अघिल्लो वर्ष २०७८ मंसिर १३ गते चौप्राँग भीरमा मृत अवस्थामा फेला परेको घटनामा सन्दर्भमा परेको कर्तव्य ज्यान मुद्दामा बीरे दर्जीलाई प्रहरीले ०७९ माघ १६ गते पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले फागुन ३ गते रामेछाप जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्वन्धमा फागुन ४ गते जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासबाट बीरे दर्जीलाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्न आदेश भएको थियो ।

आरोपितको मृत्यू भए पनि अदालती प्रक्रियामा चलिरहेको मुद्दामा जाहेरवाला, सरकारी साक्षीहरुको वकपत्र र प्रतिवादी अर्थात आरोपितका साक्षीहरुको बयान लिने प्रक्रिया नरोकिने रामेछाप जिल्ला अदालतका वैतनिक वकील यादवप्रसाद दाहालले बताउनुभयो ।

अदालती प्रक्रियामा चलिरहेको मुद्दा भएको कारण जाहेरवाला, सरकारी साक्षीहरुको वकपत्र र प्रतिवादी अर्थात आरोपितका साक्षीहरुको बयान लिइसकेर प्रमाणका आधारमा कसूर ठहर भए सजाय हुनेसम्म नै प्रक्रिया पूरा हुने उहाँले जानकारी दिनुभयो ।

‘अपराधी मरेसंगै अपराध पनि संगै मर्छ’ भन्ने फौजदारी न्यायको सिद्धान्त भए पनि मुद्दाको तहकीकात गर्ने र सजाय हुने स्थिति भएमा अपराध गर्ने व्यक्ति मरिसकेको भए सजाय तोकेर पनि कार्यान्वयन नहुने गरेको पनि अभ्यास छ ।

कारागार ऐन २०७९ दफा ३२ ले कैदी वा बन्दीको मृत्यू भएमा परिवारजनलाई बुझाउने र धर्म, सँस्कार अनुसार सद्गत गर्नदिने र त्यसको लागि कारागार प्रशासन खर्च व्यहोर्ने व्यवस्था गरेको छ । किरिया खर्च दिने वा नदिने बारे कारागार प्रशासनले केही नबताएकाे परिवारजनकाे भनाइ छ ।

सद्गत गर्न कारागार प्रशासन खर्च व्यहोर्ने सम्वन्धमा सोधिएको प्रश्नमा जेलर रामलाल तामाङ्गले भन्नुभयो ‘माथि सोधेको तर केही व्यवस्था छैन भन्ने आयो तर पनि दाहसँस्कार गर्न घाटसम्म पुर्याउन शव वाहन, जाहेरी लेख्ने लगायतको खर्च हाम्रो आफ्नै हिसावले व्यहोर्यौं ।’

 

 

 

प्रतिक्रिया