गिट्टी कुटेर जीविकोपार्जन
सल्यान – बिहानै घरमा भान्साको कामकाज सकेर बाग्चौर नगरपालिका–२ की ४५ वर्षीया मैमी बोहरा हातमा कुटो, हथौडा र डोको बोकेर घरदेखि झन्डै १५ मिनेटको दूरीमा पर्ने झिरमारे खोला किनार पुग्नुहुन्छ । थारमारे–चौरजहारी सडक नजिकैको खोला किनारमा उनलाई दिनभरि गिट्टी कुट्न भ्याइनभ्याइ हुन्छ ।
उहाँकी छिमेकी मनकला बुढाथोकी पनि बिहान सबेरैदेखि साँझ अबेरसम्म गिट्टी कुटिरहेकै अवस्थामा भेटिन्छिन् । ‘ गिट्टी कुट्ने हथौडाले थिच्दा औंलाभरि घावै घाउ छन्,’ उहाँले भन्नुभयो, ‘गिट्टी नकुटे साँझ–बिहान चुलो बल्दैन ।’
बाग्चौर नगरपालिका–२ का झण्डै दुई दर्जन महिला खोला किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्न बाध्य छन् । श्रीमानको मात्र भर पर्दा घर खर्च चलाउन गाह्रो हुने भएकाले नुन, तेललगायत दैनिक उपभोग्य सामग्रीको जोहो गर्न गिट्टी कुट्नुपर्ने बाध्यता भएको स्थानीय केवली बोहराले बताइन् । ‘एक साता लगातार गिट्टी कुटेपछि एक ट्र्याक्टर पुग्छ, एक ट्र्याक्टर गिट्टी ३ हजारमा बिक्री हुन्छ,’ उहाँले भननुभयो, ‘गिट्टी कुटेको पैसाले जसोतसो घर व्यवहार चलेको छ ।’ महिनाभरि गिट्टी कुट्दा १० देखि १२ हजारसम्म कमाइ गरेको उहाँले बताउनुभयो ।
दिनभरि घर बसेर त्यत्तिकै समय बिताउनुभन्दा काम पनि हुने र केही कमाइ हुने भएकाले गिट्टी कुट्दै आएको ३८ वर्षीया चित्रकली बस्नेतले बताउनुभयो । गिट्टीबाट कमाइ भएको पैसाले छोराछोरीको पढाइ खर्च जुटाउन पनि सहज भएको उनले बताइन् । ‘स्थानीय सरकारले एक घर एक रोजगार भन्ने नारा लगाउँदै आएको छ, हामीलाई भने रोजगारी नहुँदा पेट पाल्नै मुस्किल छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले सीपमूलक र आयमूलक तालिम दिएर रोजगारी सिर्जना गर्न सके हामीले यसरी गिट्टी कुट्नुपर्ने थिएन ।’
दिनभरि सडकमा बसेर गिट्टी कुट्दा ढाड दुख्ने समस्या देखिएको बताउनुभयो। हथौडाले औंलामा दैनिकजसो चोटपटक लाग्ने गरेको स्थानीय धनमाया बुढाले बताउनुभयो । उहाँले सकिनसकी गिट्टी कुट्ने गरे पनि दुःख अनुसार मूल्य पाउन नसकेको गुनासो गर्नुभयो ।
‘दिन प्रतिदिन महँगी बढे पनि लामो समयदेखि एक ट्र्याक्टर गिट्टीको भाउ ३ हजारभन्दा बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘मूल्य बढे जीविकोपार्जन सहज हुन्थ्यो ।’ आफूहरूले कुटेको गिट्टी थारमारे, बाग्चौर, पिपलनेटा, दमाचौर, खरिबोटलगायत बजारहरूमा गइरहेको बताउनुभयो ।-सल्यानखबर
प्रतिक्रिया