फोन गर्न डाँडामा जानुपर्ने बाध्यता

फोन गर्न डाँडामा जानुपर्ने बाध्यता

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका ग्रामीण बस्तीमा बस्दै आएका स्थानीयलाई अग्लो डाँडामा गएर मोबाइलबाट फोन गर्नुपर्ने बाध्यता रहँदै आएको पाइएको छ। बस्ती बसेका स्थानमा मोबाइल नेटवर्कले काम नगर्ने भएपछि निश्चित अग्लो डाँडामा गएर फोन गर्नुपर्ने अवस्था भएको हो।

सर्केगार्ड गाउँपालिका– २ को छारे क्षेत्रमा होटल व्यवसाय गर्दै आएकी उजेली महताराले आफू बसेको स्थानमा मोबाइल नेटवर्कले काम नगर्दा आधा घण्टा टाढाको डाँडामा गएर फोन गर्ने गरेको बताउनुभयो ।
उनले आफ्नो बसाइ गहिरो खोचमा रहेका कारण मोबाइल सम्पर्क गर्न नसकिने भएकाले अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले काम परेका बेला घर तथा बाहिर रहेका छोराछोरीलाई सम्पर्क गर्न दिनमा तीन पटक उक्त डाँडामा पुुगेर सञ्चार सम्पर्क गर्नुपरेको बताउनुभयो ।

मोबाइल नेटवर्क टिप्ने स्थान उनले पत्ता लगाएकाले पैदल यात्रुलाई पनि सो स्थानमा गएर सञ्चार सम्पर्क गर्न सुुझाब दिँदै आउनुभएको छ।
सो क्षेत्रको अन्यत्र कतै पनि नेटवर्कले काम गरेको छैन। त्यसैगरी, सोही गाउँपालिका–१ मा पर्ने सलीस्ल्लामा पनि नयाँ बनेको बजारभन्दा अग्लो डाँडाबाट सञ्चार सम्पर्क हुने गरेको छ।

उक्त स्थानबाट मोबाइलबाट फोन गरेकी सलीसल्ला बजारकी ब्यापारी देवकी गुरुङले सञ्चार सम्पर्क गर्न कठिन हुने गरेको बताउनुभयो। उहाँले पनि काम परेका बेला बीस मिनेट टाढाको डाँडामा गएर सञ्चार सम्पर्क गर्ने गरिएको बताउनुभयो । -देश सञ्चार

 

प्रतिक्रिया