अब समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ : देवकोटा
काठमाडौँ – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ
बुधवारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो ।
उहाँले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने उहाँको भनाइ छ।
देवकोटाले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।
‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ। समानुपातिक, समावेशि सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ, उहाँले भन्नुभयो, प्रतिनिधि सभा र प्रदेश सभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऊँ।
उहाँले अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलिय भागबण्डा लगायतका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ना गर्न पनि माग गर्नुभयो ।
नागरिकका समस्या र गुनासाहरु तत्कालै सम्बोधन हुने संयन्त्र बनाउन पनि माग गर्नुभयो । सुशासनको प्रत्याभुति हुने र भ्रष्टाचार निवारणका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न पनि उनले प्रस्ताव गरे। राजनीतिक दलहरुले टिकट वितरण गर्दा सम्बन्धित पार्टी कमिटीको सिफारिसमा मात्र हुने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयोे ।
प्रतिक्रिया