राष्ट्रपतिको उपचारबारे सदनलाई जानकारी गराउन माग

राष्ट्रपतिको उपचारबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ –  राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै राईले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? अनि उहाँको सुधार कस्तो भइराखेको छ ? यो विषयमा सरकारले जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ । वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ । हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन रु र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । यसमा ध्यानाकर्षण गराएँ ।’

त्यस्तै, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको र पठन पाठन मा समेत समस्या भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले दुर्गम क्षेत्रका विद्यार्थीले शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपाइरहेका भन्दै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारसँग माग गर्नुभयो ।

 

प्रतिक्रिया