गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त
कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पाण्डेले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । पाण्डेलाई कांग्रेसका २७, माओवादीका सात र एक स्वतन्त्रसहित ३५ जना सांसदको समर्थन छ । प्रदेश प्रमुखले हिजो मङ्गलवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा नियुक्ति भएपछि पाण्डेले अहिलेको गठबन्धन प्रदेश सभाको अवधिभर रहने बताउँदै सरकार आलोपालो गरेर चलाउने बताउनुभयो । उहाँले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताउनुभयो । मन्त्रिपरिषद् सात सदस्यीयभन्दा नबढ्ने उहाँको भनाइ छ । प्रदेशलाई आत्मनिर्भर बनाउने र रोजगारी बढाउने खालका कार्यक्रमहरू बजेटमा समेट्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
गण्डकीको नेतृत्वमा माओवादीको पनि दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाएपछि माओवादी सांसदले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गर्नुभएको थियो । चुमानले आलोपालो गरेर सरकार चलाउने बताउँदै कसले कति वर्ष चलाउने भन्ने निर्णय भइनसकेको बताउनुभयो ।
नवनियुक्त पाण्डे भोलि शुक्रवार पद तथा गोपनीयताको शपथ लिने तयारीमा हुनुहुन्छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जना सांसद रहेका छन् ।
यसअघि खगराज अधिकारी नेतृत्वको सरकार एक सय पाँच दिनमै ढलेको थियो ।
प्रतिक्रिया