मजदुरका हकहित संवर्द्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा

मजदुरका हकहित संवर्द्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा

काठमाडौँ –   नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गर्नुभएको छ ।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका छन् । मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यो दिनलाई संसारभरिका मजदुरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आएका छन् ।

सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरूलाई पक्राउ गरेको बताउनुभएको छ।

“नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले कांग्रेस र मजदुरहरू सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको बताउँदै सभापति देउवाले आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइले अनेक समस्याहरूलाई बेहोरिरहन परेको उल्लेख गर्नुभएको छ। उनीहरूको समस्यालाई समाधान गरेर मजदुर वर्गको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने सभापति देउवाले उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया