रविजीले रोजेकै मन्त्रालय दिन अहिले सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

रविजीले रोजेकै मन्त्रालय दिन अहिले सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी फेरि सरकारमा आएमा भ्रष्टाचारका सबै फाइल खोल्न तयार रहेको बताउनुभएको छ ।

सोमबार गृहजिल्ला चितवनस्थित निजी निवासमा पत्रकारहरुसँगको सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले यसो भन्नुभएको हो । रवि लामिछानेजी सरकारमा आए भ्रष्टाचारको कुन फाइल खोल्नु पर्ने हो म तयार छु। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, उहाँले भन्नुभयो, हिजो उहाँ बालुवाटार आउनुभएको थियो। उहाँ (रवि) ले पनि पार्टीमा सल्लाह गर्ने र मैले गठबन्धनमा सल्लाह गर्ने कुरा भएको छ।

प्रचण्डले अझै पनि सरकारको समर्थन फिर्ता लिने कुरा नभएको पनि बताउनुभयो । उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै (गृहमन्त्रालय) अडिग हुनु हुन्छ । तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । हामी सल्लाह गरेर टुंगो लगाउँछौँ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन ।

प्रचण्डले आइतवारको भेटमा रविले पनि यही मन्त्रालय चाहिन्छ नभनेको दाबी गर्नुभयो । उहाँले पनि यही नै चाहिन्छ भन्नु भएको छैन । अहिले नै त्यो अवस्था बनिसकेको छैन, उहाँले भन्नुभयो, रविजीले भ्रष्टचारको फाइल सरकारले नखोल्ने रहेछ भनेको सुनेँ । उहाँले खपतका लागि भन्नुभयो होला अहिलेको सरकारले भ्रष्टाचारको फाइल नखोल्ने भनेको छैन । सरकारमा आउनु, कुन फाइल खोल्नुपर्छ म तयार छु।

 

प्रतिक्रिया