मुसिकोटमा सस्तो पसल संचालन

मुसिकोटमा सस्तो पसल संचालन

रुकुम पश्चिम-  रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा सस्तो पसल संचालनमा आएको छ । छवि बहुउद्देश्यिय सहकारीले वडा कार्यालय नजिक मुलबाटामा सस्तो पसल संचालन गरेको हो । वडावासीलाई सस्तो मुल्यमा दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने गरी बैशाख २८ गतेदेखि सहकारीले पसल संचालन गरेको हो ।

सहकारीले मदिरा तथा सुर्तिजन्य बाहेक दैनिक उपभोग्यका सामग्रीहरु बिक्रि गर्नुका साथै कृषकले उत्पादन गरेका कृषि उपजहरु खरिद पनि गर्ने सहकारीका अध्यक्ष टेकबहादुर कठायतले बताउनुभयो । बजार मुल्य भन्दा सस्तोमा सामग्रीहरु बिक्रि हुने उहाँको भनाई छ ।

मुख्य गरी उपभोक्ता नठगिउन र सुपथ मुल्यमा दैनिक उपभोग्य सामग्री पाउन भनेर नै सहकारीले पसल संचालन गर्ने निर्णय गरेको कठायतले बताउनुभयो ।

सहकारीले सस्तो पसल संचालन गर्नु राम्रो भएको भन्दै वडाध्यक्ष धनबहादुर खड्काले यसको दीगोपनाका लागि ध्यान दिन आग्रह गर्नुभएको छ । केही दिन संचालन भएर बन्द नगर्न आग्रह गर्दै उहाँले सहकारीलाई वडाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सम्पूर्ण वडावासीका लागि सस्तो पसल लाभदायी बन्नुपर्नेमा उहाँको जोड छ ।

साथै उहाँले स्थानीय कृषि उपजसंग दाल, चामल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरु साट्टे व्यवस्था गर्नपनि सहकारीलाई आग्रह गर्नुभएको छ । यसो हुनसकेमा गाउँमा उत्पादन भएको कृषि उपजले बजार पाउने वडाध्यक्ष खड्काको भनाई छ ।

प्रतिक्रिया