सिञ्जामा निर्माणका काम धमाधम

सिञ्जामा निर्माणका काम धमाधम

जुम्ला-   जुम्लाको सिञ्जामा विकास निर्माणका काम धमाधम भइरहेका छन् । सिञ्जामा ग्रामीण सडकको काम अघि बढाइएको छ । गाउँपालिकाको प्रशासकीय भवनसमेत निर्माण भइरहेको छ ।
सिञ्जाको आचार्यलिही, धिताललिही, नराकोट  हुँदै कनकासुन्दरी मन्दिरसम्मको सडकका लागि अर्थ मन्त्रालयबाट रु १२ करोड प्राप्त भएको अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो  ।
पालिकाको प्रशासकीय भवन निर्माण गर्न रु चार करोड पाँच लाख बजेट विनियोजन गरिएको छ । सो काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउन सार्वजनिक खरिद ऐन भित्र रही बालुवा, गिट्टी र ढुङ्गा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड लागू गरिएको छ ।
सिञ्जाको नराकोट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भिडियो एक्सरेसहितको ल्याब सेवा सञ्चालनमा आएको छ ।  सिञ्जा–२ मा प्रसुतिगृह र वडा नं ६ मा आधारभूत स्वास्थ्य चौकी स्थापना गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सिञ्जा–४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो । गाउँसभाले स्वीकृत गरेका वार्षिक विकास योजना कार्यान्वयनका लागि वार्षिक कार्य सञ्चालन तालिका निर्माण गरिएको छ ।
यस्तै तिला गाउँपालिकाले तीन ग्रामीण सडक निर्माणको काम अघि बढाएको छ । गाउँपालिकाका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले तिला–१ को लाटिका धानदेखी वडा नं २ लर्मी गाउँसम्म सडक निर्माणका लागि रु ५६ लाख ५९ हजार बजेट छुट्टयाइएको छ । सिञ्जा–९ रासादेखी नदैगुफासम्म ग्रामीण सडक निर्माण गर्न रु ६३ लाख ६१ हजारको सम्झौता भएको छ । कुडारी बजारदेखी डुङ्गी गाउँसम्म सडक स्तरोन्नति गर्न रु ३७ लाख ठेक्का सम्झौता भएको छ । तलिचौरदेखी लासिसम्म तथा हतानबाडादेखी धोच्यासम्म तटबन्धको काम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
पाँच विद्यालयमा पक्की भवन 
तिला गाउँपालिकाले पालिकाभित्र पाँच सामुदायिक विद्यालयमा पक्की भवन निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाको ज्योति मावि राँसामालापानीमा भवन निर्माण अघि बढाइएको छ । यस्तै तिला–८ स्थित देवी देउराली विद्यालयमा छ कोठे भवन निर्माण गर्न रु ३८ लाखमा ठेकेदारसित सम्झौता भइ काम अघि बढेको छ ।
यस्तै तिलाको देउराली मावि जुम्लाकोटको आठ कोठे पक्की भवन, सरस्वती माविको आठ कोठे पक्की भवन र मानेचौर माविको पक्की भवन निर्माण पनि अघि बढाइएको तिला गाउँपालिकाले जनाएको छ । तातोपानी, पातारासी, हिमा गाउँपालिकालगायत पालिकाले पनि विकास निर्माणलाई तिब्र पारेका छन् । -रासस

प्रतिक्रिया