रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ –  सरकारले टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रुपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । ५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताउनुभयो ।

‘केही समयअघि सर्वोच्च अदालतले पनि उच्च अदालतले गरेको रेशमजीको सजाय सदर गरिसकेको छ’, उहाँले भन्नुभयो, ‘उहाँले ५० प्रतिशत सजाय कटाइसकेकाले बाँकी सजाय माफी मिनाहाको निर्णय भएको हो । अन्य केही कैदीको पनि सजाय माफी मिनाहाको निर्णय भएको छ।’

शर्मा अनुसार कानुनी परामर्श र राय सुझाव लिएपछि यो निर्णय कानुन अनुसार ठीक भन्ने ठहरसहित रेशमको सजाय माफीका लागि सिफारिस गरिदिएको बताउनुभएको छ । यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिनुभएको थियो ।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिनुभएको थियो ।

‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरि कानुनबमोजिम गर्नु भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।

त्यसबेला टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदाले दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको थियो।

प्रतिक्रिया