फुकाेट कर्णाली जलविद्युत भारतले निर्माण गर्ने सम्झाैता

फुकाेट कर्णाली जलविद्युत भारतले निर्माण गर्ने  सम्झाैता

सुर्खेत –   कालिकोटमा रहेको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण भारतले गर्नेगरी समझदारी गरिएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा समझदारी गरिएका सात परियोजनामध्य फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडले गर्नेगरी हस्ताक्षर गरिएको हो ।

अर्ध जलाशययुक्त (पिआरओआर) उक्त आयोजनामा ५१ प्रतिशत एनएचपिसीले लगानी गर्ने र ४९ प्रतिशत विद्युत उत्पादन कम्पनीको लगानी रहनेछ । एनएचपिसीले गत वर्ष २०२१ को डिसेम्बरमा नै फुकोट कर्णालीमा लगानी गर्न प्रस्ताव गरेको थियो ।

कर्णाली नदीमा पहिचान भएको फुकोट कर्णाली आयोजनामा ९२ अर्ब तीन करोड लागत लाग्ने यसको सम्भाव्यता अध्ययनमा उल्लेख छ । निर्माण सुरू भएको पाँच वर्षभित्र सक्ने उल्लेख छ। यहाँबाट उत्पादन भएको ४८० मेगावाट बिजुली भारतमा बिक्री गरिनेछ ।

यो आयोजनाको बिजुली कर्णाली करिडोरको प्रसारणलाइनमार्फत् भारत लगिनेछ। कर्णाली करिडोरमा ४०० केभीको प्रसारण लाइन बनाउनका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भारतीय कम्पनी कल्पतरूसँग सम्झौता गरिसकेको छ।

पछिल्लो समय नेपालका ठूला जलविद्युत आयोजनामा लगानी गर्न भारतीय कम्पनीहरू इच्छुक देखिएका छन्। केही समय अघि ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणका लागि पनि भारतीय कम्पनी एनएचपिसीसँग सम्झौता भएको थियो ।

प्रतिक्रिया