मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविरर सञ्चालन
दैलेख – मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको छ ।
काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको हो । दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले बताउनुभयो ।
शिविरमा १८९ जनाको मुटुको जाँच इसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्स(रे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका २९ जनाको दाँत फुकालिएको छ ।
शिविरमा उपचार सम्भव नभएका ५४ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीका सञ्चालकसमेत रहेका सांसद शर्माले रेफर भएका बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइदिएका छन् । बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था भने आठबीस नगरपालिकाले मिलाउनेछ ।
सांसद शर्माका अनुसार सो टोलीले बिहीबार दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा पनि शिविर सञ्चालन गरेर बिरामीहरूको निःशुल्क उपचार गर्नेछ । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आउनुभएको छ ।
प्रतिक्रिया