सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

सल्यान- सल्यानको त्रिवेणी गाउँपालिका ४ लाई पोषणमैत्री वडा घोषणा गर्न तयारी तीव्र पारिएको छ । पोषण मैत्री वडा घोषणाका सूचकलाई आत्मसाथ गर्दै पालिकाले कार्यक्रमलाई तीव्रता दिएको छ ।

जस अन्तर्गत शुक्रवार बहुक्षेत्रिय पोषण कार्यक्रम अनुसार वडा न ४ का सुनौला हजार दिन भित्रका ६० जना आमाहरूलाई १० वटाको दरले ८ हप्ते ६०० हेक्पसायर र ब्ल्याक अष्ट्रोलोप जातका कुखुरा वितरण गरेको छ ।

कुखुरासँगै दाना,औषधी समेत वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनुभयो । यस्तै कृषि शाखाबाट बिउ विजनm प्लास्टिक टनेल, जैविक मल बनाउन ड्रम, हजारी र खानेपानी शाखाबाट पानी सुद्धिकरणका लागि २७ वटा फिल्टर वितरण गरिएको उहाँको भनाई छ ।

पोषण मैत्री वडा घोषणा गर्न विभिन्न ७६ सूचक पार गर्नु पर्ने बताउँदै उक्त सूचकलाई पुरा गर्न पालिकाले कुखुरा लगायत कृषिजन्य सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो । वितरण गरिएका सामानको सही सदुपयोग गर्दै पोषणमैत्री वडा घोषणालाई सफल बनाउन समेत उहाँले आग्रह गर्नु भयो । बालबालिका नै हाम्रो भविष्य भएकोले उनीहरूलाई पोषणयुक्त बनाउनुपर्ने बताउनुभयो । पालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा पोषणलाई टेवा पुग्ने कार्यक्रम राख्ने समेत बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकीय प्रबन्ध गरी सात वटा विषयका ७६ वटा सूचकमा सन्तोषजनक नजिता देखिएपछि पोषणमैत्री वडा घोषणा गर्न सकिन्छ । विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार सुहार, गर्भवती जाँच, हजार दिनका आमा र बच्चाको हेरचाहका साथै सरसफाइ, शुद्ध खानेपानी, धुवाँरहित चुलोको प्रयोग, करेसाबारी र अन्य निर्धारित सूचकहरू पोषण मैत्री वडाको अवधारणामा समेटिएको छ ।

प्रतिक्रिया