सडक चौडा गर्ने कार्य अन्तिम चरणमा
हुम्ला –घर भत्काएर सडक चौडा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि निर्माण भएको सडक साँघुरो भएको गुनासो आई रहेको बेला प्रदेश सरकारको आर्थिक सहयोगमा सिमकोट गाउँपालिका–६ को तीन धारा क्षेत्रमा सडक चौडा गर्ने कार्य अन्तिम चरणमा पुगेको हो।
एउटा आठ कोठे दुई तले भवन भत्काएर सडक निर्माण गरि रहन भएका धीरज रोकायाले सडक चौडा गर्नकै लागि आफ्नो भवन भत्काउने कार्य गरेको बताए। यसअघि पनि उनले भवन भत्काएर सडक निर्माण गरेका थिए। उनले पहिले निर्माण भएको सडक साँघुरो भएको कारण हाल दुईदेखि तीन मिटरसम्म जमिन सडक निर्माणका लागि दिएका थिए।
सो वडाका वडा अध्यक्ष नन्द रावतले पहिलो पाँच मिटर मात्र चौडा सडक भएको कारण साँघुरो भएकोले अहिले थपेर आठ मिटर चौडा बनाइएको बताउनुभयो ।
सिमकोट बजार क्षेत्रमै पर्ने उक्त सडक तत्कालीन जिल्ला विकास समिति र हाल प्रदेश सरकारको बजेट सहयोगमा निर्माण कार्य भई रहेको छ। तीन धारा क्षेत्रका तीन वटा घर पुर्ण रुपमा भत्काएर सडक निर्माण गरिएको बताउँदै सडक निर्माण अन्तिम चरणमा पुगेको छ। अर्कोपट्टी पनि ब्यक्तिको जग्गा मिचेर सडक निर्माण भई रहेको छ। दुवैतिरको सडक रात दिन निर्माण कार्य भई रहेकोले दश दिनमा काम सम्पन्न हुने वडा अध्यक्ष रावतले बताउदै अहिले सडक जस्तो देखिन थालेको बताउनुभयो ।
यस वर्षको बजेटबाट एक सय मिटर सडक चौडा हुने भएको छ। यसका लागि कर्णाली प्रदेश सरकारले पहिले पैतालीस लाख र पछि बीस लाख बजेटको ब्यवस्था गरेको थियो। सो चौडा गर्ने सडक जग्गा र घर धनी मिलाएर उपभोक्ता समिति गठन गरी निर्माण गरिरहेका छन्। सडक चौडा गर्ने कार्यका लागि बजेटको व्यवस्था भने कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो ।-देशसञ्चार
प्रतिक्रिया