कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

काठमाडौँ –  नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको हो ।

‘असार महिनामा किसानको समय हो। किसानको समस्यामा सहजीकरण गर्ने। समुदायलाई अफ्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ। केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ,’ महामन्त्री थापाले प्रस्ताव गर्दै भन्नुभयो, ‘त्यो भन्दा बाहेक समय कि उहाँहरु अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ। काम गरिरहेको अवस्था बन्छ।’

उहाँले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको हो । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाई छ।

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्नुभएको छ ।
त्यस्तै, समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ। आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउनेगरी घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।

‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रमहरू बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने र विधानको नियमावलीको ४७ ९ख० बमोजिम वर्षभरीको गतिविधिको प्रगति विवरण ६÷६ महिनामा केन्द्रिय कार्यसमितिमा बुझाउनुपर्ने,’ थापाले भन्नुभयो, ‘समितिहरूले पूर्णता पाउन सकेका छैनन्। भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो ।
साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाउँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान सुरु हुने। यो अभियानमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्नेछ।’

पार्टीका सबै दस्तावेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्नेपनि उनको प्रस्ताव छ। यसको निम्ति कामहरू भइरहेको पनि महामन्त्री थापाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया