घरदैलोका सरकारले महिलाको बजेट घटाए : नागरिक समाज

घरदैलोका सरकारले महिलाको बजेट घटाए : नागरिक समाज

दैलेख – संघीय संरचनापछि बनेका घरदैलोका स्थानीय सरकारले विकासको मूलधारबाट पछि पारिएका नागरिकहरुलाई लाभ पुग्ने बजेट र कार्यक्रमहरु कटौती गरिएको, जनप्रतिनिधिहरुले आफन्त र कार्यकर्ता पोख्ने काम गरेको भन्दै सरोकारवालाहरुले असन्तुष्टी व्यक्त गरेका छन् । 

११४ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाको सहयोगमा इन्सेकले शुक्रबार दैलेखमा आयोजना गरेको ‘लैंगिक हिंसाको अन्त्य र महिलामा लगानी’ रेडियो सम्वाद कार्यक्रममा नागरिक समाजका अगुवाहरुले त्यस्तो असन्तुष्टी जनाएका हुन् ।  

मानव अधिकार रक्षक सञ्जालका संयोजक पत्रकार विशाल सुनारले भन्नुभयो ‘२०६४–२०७४ सम्म महिलाका क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन नगरेको स्थानीय निकायको न्यूनतम शर्त मापनमा असफल मानिन्थ्यो, अनिवार्य १५ प्रतिशत बजेट छुट्टयाइन्थ्यो । लक्षित कार्यक्रमले थुप्र्रै रचनात्मक काम भएका थिए ।’

घरदैलोको सरकारले पहिले भन्दा धेरै सेवा र सुविधा दिन सकोस् भनेर स्थानीय सरकार संचालन ऐनले पालिकालाई बजेट बनाउन स्वायत्तता दिइएको हो । महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिलाई यसरी बेवास्ता गरिएला भनेर स्वायत्तता दिइएको होइन पत्रकार सुनारले टिप्पणी गर्नुभयो । 

अधिकारकर्मी रिना पोखरेले आफैले जिताएका जनप्रतिनिधिहरु पनि हामी जस्ता एकल महिला र पछि पारिएका व्यक्तिहरुका लागि कुनै कार्यक्रम वा गतिविधि नगरेको अवस्थाले आफूहरुलाई अचम्मित भएको बताउनुभयो, अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउने कार्यक्रमै फितला हुने गरेको दुखेसो पोख्नुभयो । 

एमाले निकट अनेमसंघका जिल्ला सचिव सीता शाहीले संघीय संरचनापछि पहुचवालाहरुले श्रोतमा कब्जा जमाएको साधारण महिलाहरु ठगिएका टिप्पणी गर्नुभयो । काँग्रेसको महिला भातृसंगठन नेपाल पहिला संघका कार्यवाहक जिल्ला सभापति दुर्गा श्रेष्ठले लक्षित वर्गमा पनि महिलामा विपन्न महिला, दलितमा अति गरिबलाई अवसर दिन नसके मात्र सामाजिक न्याय हुने धारणा राख्नुभयो । 

सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाका जिल्ला संयोजक शशीकला पाण्डेयले दैलेखमा महिला माथि हुने घरेलु हिंसा, छाउपडीप्रथा, बालविवाह मुख्य समस्याहरु रहेको औल्याउनुभयो । कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले हिंसा पीडित महिलालाई सहयोग गर्दा समाज भाँडेको, मुद्दा गर्न उक्साएको आरोप लाग्ने गरेको समस्या दर्शाउनुभयो । 

उठेका प्रश्नको जवाफ दिंदै नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले महिला तथा बालबालिका क्षेत्रमा नगरपालिकाले लगानी धेरै गरेको छ, जनअपेक्षा जति गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो ‘साधन श्रोत घट्दोक्रममा छ, तर पनि सुझाव अनुसार बजेट बढाउने प्रतिवद्धता जनाउँदछु ।’

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ यो वर्षको नाराको मर्म अनुरुप महिला क्षेत्रमा राज्यले लगानी बढाउदै लैजानुपर्ने तर्फ तीनै तहका सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको रेडियो सम्वाद कार्यक्रम दैलेखका ४ वटै एफएम रेडियो ज्वाला, रेडियो मातृभूमि, रेडियो धुब्रतारा र रेडियो हाम्रो समावेशीले विहान सवा ८ देखि सवा १० बजेसम्म प्रत्यक्ष प्रसारण गरेका थिए ।
 

प्रतिक्रिया