भोट घट्ने डरले उपभोक्ता ठग्नेलाई छोड्नुहुन्न : शाही

भोट घट्ने डरले उपभोक्ता ठग्नेलाई छोड्नुहुन्न : शाही
सुन्नुहोस्

दैलेख – जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले जनप्रतिनिधिहरु भोट घट्ने डरले अत्याचार र बेथिति सहेर बस्ने गरेको टिप्पणी गर्नुभयो । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले कालोबजारी गर्ने, उपभोक्ता ठग्नेहरुले गरेको गलत कार्यको बिरोध गर्न आग्रह गर्नुभयो । 

प्रमुख शाहीले जनप्रतिनिधि, सचेत नागरिक वा जान्ने सुन्नेले चुप बसे सर्वसाधारणले कसरी बेथिति बिरुद्ध बोल्नसक्छन् ?  भ्रष्टाचारी, कालोबजारी, ठगको बिरोध गर्न नसक्ने भए के सचेत नागरिक ? कसका लागि जनप्रतिनिधि ? प्रश्न गर्नुभयो । 

राम्रो गर्नेहरुलाई प्रशंसा गर्ने, पौरखीको मर्यादा गर्ने, उदाहरणीय काम गर्नेलाई सम्मान गर्ने संस्कार विकास गर्दै जानसके सुशासनको परिपाटी बस्ने, आम उपभोक्ताले गुणस्तरीय बस्तु र सेवा पाउन सजिलो पर्ने उल्लेख गर्दै सरकारी सम्पतिको हिफाजत गर्न सबैको दायित्व हुने उहाँले बताउनुभयो ।  

कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख तप्ताकुमारी थापाले बजार अनुगमनलाई प्रभावकारी बनाउने, मूल्य अनुसार गुणस्तरीय बस्तुको सुनिश्चितता, उपभोक्ताहरुसंग मर्यादित व्यवहार, सेवालाई सहज नाउन नगरपालिका क्षेत्रका व्यापारीहरुसंग आफूहरुले छलफल गर्ने कार्ययोजना रहेको जानकारी गराउनुभयो । 

त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दैलेख–सुर्खेत चल्ने गाडीले अहिले पक्की सडकमा पनि कच्ची सडक हुँदाको यातायात भाडा असुलेको धेरै जनगुनासो रहेकोले प्रदेश सरकारलाई अनुरोध गरिएको जानकारी गराउनुभयो । प्रदेश सरकारको क्षेत्र भएकोले त्यहाँ अनुरोध गरिएको उहाँले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा खुला छलफलको क्रममा धारणा राख्दै सहभागीहरुले बजार अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने, म्याद नाघेका र गुणस्तरहीन बस्तु फेला पारेको बेला कारवाही गर्ने परिपार्टी हुनुपर्ने, उपभोक्ता सचेतना बढाउनुपर्ने लगायतका सुझाव राख्नुभएको थियो । 

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पर्शुराम आचार्य र अन्तरक्रिया कार्यक्रमको सहजीकरण मञ्चका सचिव पत्रकार अमर सुनारले गर्नुभएको उपभोक्ता अधिकार दिवसको महत्व, उपभोक्ता अधिकारको सवाल विषयमा अवधारणापत्र राख्नुभएको थियो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष डिलकुमारी चन्दले स्वागत मन्तव्य राख्नुभएको थियो । 
 

प्रतिक्रिया