दिगो विकासमा लगानी आवश्यक : अध्यक्ष भण्डारी

दिगो विकासमा लगानी आवश्यक : अध्यक्ष भण्डारी

दैलेख – कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले भविष्यका लागि प्रभाव पार्नसक्ने दिगो विकासमा लगानी गर्न आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगले दैलेखमा आयोजना गरेको पञ्चवर्षीय योजना तर्जुमा परामर्श कार्यक्रममा उहाँले सो सुझाव राख्नुभएको हो । 

भण्डारीले दैलेखमा राजनीतिक नेतृत्वमा रहेको भेगीय भावना हटाएर दैलेख सदरमुकाम आसपासमा एयरपोर्ट, सिल्क रोडमा लगानी लगायतका विकासमा कर्णाली प्रदेश योजना आयोगले काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले कर्णाली प्रदेश सरकारले दिने विकास कार्यक्रममा किनबेच चलेको भन्ने कुरा उठेकोले योजना आयोगले छानबिन गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेशसभा सदस्यका अर्का सदस्य इन्दिरा शाहीले बोलेको कुराका कार्यान्वयन गर्ने सबैको प्रतिवद्धता चाहिने बेला भएको बताउनुभयो । 

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले योजना तर्जुमा योजना छनौटका विधि प्रक्रिया, अघिल्लो पञ्चवर्षीय योजनाको उपलव्धी, दिगो विकास लक्ष्यका सूचकहरु, संघीय सरकार र कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु र स्थानीय सरकारको सहयोग विषयमा प्रकाश पार्नुभएको थियो । 

अध्यक्षता भएको कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य बिनोदकुमार शाह, दैलेखका स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिकका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुले योजना निर्माण प्रक्रियालाई विधि सम्मत बनाउन र योजनाको पारदर्शिता अपनाउन सुझाव दिएका थिए । 
 

प्रतिक्रिया