जातको विभेद अव श्रोत र अवसरहरुमा बदलियो

जातको विभेद अव श्रोत र अवसरहरुमा बदलियो

दैलेख – पहिले पानी नचल्ने जात भनिएका दलित समुदायलाई प्रत्यक्ष जातको विभेद हट्यो तर साधन, श्रोत र अवसरहरुमा विभेद हुन थालेको यो समुदायका अगुवाहरुले पींडा बोध गरेका छन् । दलित अगुवाहरुको भनाई छ, जातको विभेद अब साधन श्रोतमा बञ्चित गर्न थालिएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको आयोजनामा बिहीबार दैलेख सदरमुकाममा भएको ५९ औं अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले त्यस्तो अनुभूती सुनाएका हुन् । 

‘स्थानीय सरकारले बजेटमा कञ्जुस्याइँ गरेका छन्, दलित संस्थाले बोलाएका कार्यक्रम नआउने, जातीय विभेदका सवाल उठ्ने यस्ता कार्यक्रमहरुमा प्राथमिकता पर्दैनन्’ दलित स्वालम्बी समाजका अध्यक्ष पदम सुनारले भन्नुभयो । 

नारायण नगरपालिका–८ वडा नं. ८ वडा सदस्य सुनकला नेपालीले भन्नुभयो ‘हामी किनाराका साक्षी भएका छौं वडाले गर्ने कार्यक्रम वडाध्यक्षको बोलवाला हुन्छ, नगरसभामा मेयरले चाहे अनुसारको बजेट पारिन्छ । हामी त उहाँहरुका कार्यक्रम पारित गरिदिने खेताला जसरी दस्तखत गरिदिने गरेका छौं ।’

कार्यक्रममा सहभागी महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकले दलितका लागि दलितले मात्र बोल्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने आग्रह गर्नुभयो । दलितका कार्यक्रममा नआउने स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउन संगठित आवाज उठाउनुपर्ने सुझाव दिनुभयो ।

त्यसबखत जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई चन्द बनगाडीले घरेलु हिंसा र सामाजिक विवादमा दलित समुदायका घटनाहरु धेरै आउने भएकोले दलितहरुमै प्रभावकारी सचेतना जरुरी रहेको बताउनुभयो । 

नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रकुमार खड्काले दलित जनप्रतिनिधिहरुको अग्रसरतामा हुने आन्दोलन, दवाव क्रियाकलापमा आफ्नो सहयोग रहने बचनवद्धता जनाउनुभयो । कार्यक्रमका सभाध्यक्ष स्थानीय तह जनप्रतिनिधि मञ्चले नागरिक समाज र दलितहरुप्रति सदभाव राख्ने गैरदलित समुदायको सहकार्य बढाउने काममा जुटेको सुनाउनुभयो । 

अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसको महत्व र जातीय विभेद सवालमा पैरबीका सवाल विषयमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार कार्यपत्र प्रस्तूत गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरु नबिन रिजाल, डम्बरबहादुर बिक, अधिकारकर्मीहरु रेशम बिश्वकर्मा, मनकुमारी सुनार, राजु नेपाली लगायतले जातीय विभेद समस्या र समाधानका उपाय बारे सुझाव राख्नुभएको थियो । 

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकामा रगंभेदी कानुन विरुद्ध भएको प्रदर्शनमा ६९ जना अधिकारकर्मीहरु मारिएको घटनको स्मरण गर्दै संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मा मार्च २१ तारिकलाई रंगभेद उन्मुलनको घोषणाको दिनलाई अन्तर्राष्ट्रिय दिवसको मनाउन थालिएको हो । 
अमर सुनार 
 

प्रतिक्रिया