कति चक र डस्टर खेलाउने? ‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न’

कति चक र डस्टर खेलाउने? ‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न’

सरकारले आगामी बैशाखब ३१ गतेको लागि स्थानीय तहको चुनावको घोषणा गरेपछि अहिले सर्बत्र चासो, चिन्ता र चिन्तनको विषय बनेको छ । यही कारण अहिले सडक, संसद वा दुईजना मात्र भेट भए पनि कुराकानीको विषय चुनाव नै बनेको छ । लामो समयदेखि नभएको स्थानीय निकायको चुनावप्रति जनता वा मतदाता उत्साहित छन् । योसँगै विभिन्न दलहरु भने चुनावको लागि निक्कै दौडधूपमा लागेका छन् । दल निकट व्यक्तिहरु भने कुनै पदको लागि आकांक्षीदेखि दाबेदारसम्म बनेका खबरहरु बाहिर आएका छन् । यस्तैमा शिक्षकलाई पनि चुनावी माहौले ओभानो राखेको छैन । जिल्लाजिल्लामा विगत लामो समयदेखि शिक्षण पनि राजनीति पनि गर्दै आएका शिक्षकबाट राजिनामा पनि आउने क्रम बढिरहेको छ । शिक्षक पनि मेयर, उपमेयर वा त्यति पनि नभएर वडाको अध्यक्ष बन्न आकांक्षी देखिएका छन् । यस्तै आकांक्षाको भाव बोकेको मात्र नभएर पदमा पुगेपछि कसरी शक्तिको, पदको दुरुपयोग भइरहेको छ भन्ने सन्देश बोकेको एक कविता हो, ‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न’ । सो कविता कैलालीको टीकापुरका स्थायीवासी चतुर्भुज गौतमले हालैमात्र लेखेका हुन् ।
हाल नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा अधिकृत पदमा कार्यरत उनी बेलामौकामा विभिन्न कविता, कथा तथा गीत लेखेर समाजमा देखिएको घटनालाई साहित्यको विम्वमा प्रयोग गर्न रुचाउँछन् । स्वर्गीय बुवा गोविन्दराज र आमा कमलादेवी गौतमका सन्तान चर्तुभूज अहिले नेपाली विषयमा स्नातकोत्तर गरिरहेका छन् । उनी जन्म विसं. २०३१ साल बैसाख ८ गते जन्मिएका हुन् । उनी अहिले ललितपुर बस्दै आएका छन् । उनै गौतमको व्यंग्यात्मक तर यथार्थपरक कविता यो साताको शिक्षा साहित्यमा :

‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न’
राजनीति गर्न मन त पटक्कै थिएन प्रभु !
फोहोरी खेलमा जम्ने मन कतै थिएन
गर्दै थिएँ केही
दुई गाँसको लागि
पसिना बेचेकै थिएँ, श्रम बेचेकै थिएँ
आफू बेचिएर भएपनि
माथिकालाई डकार्न लगाकै थिएँ
आफू घोप्टिकै थिएँ, थिचिएकै थिएँ
थिल्थिलिएकै थिएँ, दबिएकै थिएँ
पिल्सिएकै थिएँ
जति जेजे भएपनि
इमान मै थिएँ
हाकिमको गाली सहेरै भएपनि
उसलाई माथि पुर्याएकै थिएँ
नाक ठाडो बनाई दिएकै थिएँ
सहेकै थिएँ, बेहोरे कै थिएँ
सकी नसकी दुर्ई गाँस खाएकै थिएँ
तर………………………..तर……………….
मेहेनेत गर्न नजान्ने मान्छे
कुराले सबैलाई ठिक्क पार्ने मान्छे
चोचो र मोचो मिलाउन सक्ने मान्छे
अचानक राजनीतिमा चम्किदिएपछि
मेयरका लागि चर्चामा चुलिएपछि
गर्न नसक्ने ऊ भन्दा
गर्न सक्ने म किन कम हुने र ?
कोही भन्दा म पनि के कम छु र ?
त्यसैले बिन्ती छ,
‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न……………………!’

वर्षौं भयो शरीर घोट्दाघोट्दा
असमय मै बुढो भएछु
वर्षौंसम्म दश र पाँच गर्दागर्दा
जिन्दगी नै बिर्सिसकेछु
दुई गाँसको जोहो मै
एकसरो भोटोको जोगाडमै
फलानोले जस्तै
सात पुस्तालाई कमाउने
ध्याउन्नलाई भुलेछु
‘जोगी बन्नको लागिमात्र
राजनीतिमा लागेको हो र ?’
यो मूलमन्त्र अलापेका
राजनीतिज्ञहरुको मूलमन्त्रमा
म जाबो एउटा अदना कर्मचारीले
चक र डस्टर खेलाउँदै धुलो उडाउने
जाबो एउटा माष्टरले
कसरी सातपुस्तालाई कमाउन सक्छु र ?
कसरी महलका महल ठड्याउन सक्छु र ?
त्यसैले त प्रभु !
चक डस्टरलाई बिदा दिन
मन लागेको छ मलाई
हाकिमको अगाडि हात मोल्दैमोल्दै
हस्हस् भन्न छाड्न मन लागेको छ मलाई
कहिले सासुको पालो आउने
कहिले बुहारीको पालो आउने
राजनीतिमा लागेर टिकट कुम्ल्याउने
टिकट नपाए ठेक्का कुम्ल्याउने
ठेक्का नपाए
उपभोक्ता समिति पड्काउने
त्यो पनि नपाए
सर्वदलीय संयन्त्र उछिट्याउन पाउने
यति राम्रो राजनीतिको पेशा
सबैलाई मन पर्न थालेको छ
त्यसैले बिन्ति छ
‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न……………………!’

प्रभु !
कस्तो अचम्म छ हेर त !
सभासद भैसकेका मान्छे
मेयरमा आकांक्षी छन्
पूर्व मन्त्री भैसकेका मान्छे
मेयर बन्ने सपना देख्छन्
वर्तमानमा मन्त्री भैरहेका मान्छे
मेयरमै लालायित हुन्छन्
क्याम्पस प्रमुखहरु मेयरको सपना देख्छन्
शिक्षकहरु मेयरको सपना देख्छन्
कर्मचारीहरु मेयरको सपनामा हराउँछन्
राजनीति गर्नेहरु मेयरको सपनामा रमाउँछन्
राजनीति नगर्नेहरु पनि
मेयरकै सपनामा रमाउन थाल्छन भने
के मैले मेयर बन्न हुन्न र प्रभु !
कति देवकोटाको भेँडो बनिराख्ने र प्रभु !
आखिर मलाई पनि त रहर छ
मेयर बनेर
थोरै जनताको नाममा सेवा गर्ने
धेरै आफ्नै नाममा मेवा भर्ने
सात पुस्तालाई अघाउँजी कमाउने
अनि मेयरकै सपनामा रमाउने
राजनीति गर्नेलाई समाजको डर छैन
अख्तियारको डर छैन
कुनै सरकारी संयन्त्रको डर छैन
त्यसैले प्रभु !
बिन्ति छ प्रभु !
मलाई पनि मेयरमै रमाउन देऊ
‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न……………………!’

एडुखवरवाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया