स्थानीय चुनावपछि रौतहटमा चार जनाको हत्या, काँग्रेस एमालेका कार्यकर्ता प्रहरी नियन्त्रणमा

          |   प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४     ::: 243 पटक पढिएको   |  

रौतहट । स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्ध हत्या भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएकोछ । शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा तीन वर्षीया एक बालिकाको हत्या भएकोछ ।

खानेपानीको निहुमा हुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो ।

झडपमा हुुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुमारीलाई चोट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए । काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

यस अघि रौतहटमा निर्वाचन पछि तीन जनाको हत्या भइसकेको छ । मौलापुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नपा–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय बिरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडाध्यक्ष उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भइसकेको छ ।

निर्वाचनको दुइहप्ता बित्न लाग्दासम्म जितहुने र हार हुने पक्षबीच अत्यधिक तनाव रहेको कारण अहिले प्रायःसबै गाँउमा दैनिकजसो कुनै न कुनै निहुमा विवाद भइरहेको देखिएको छ ।

स्थानीय निर्वाचनमा कतिपय स्थानमा जितको खुसियालीमा कार्यकर्ता बढी उचश्रृंखल भएको देखिएका छन् भने कतिपय ठाउँमा हार बेहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिस गरेका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताए ।

हाम्राकुरावाट साभार गरिएकाे हाे ।



Leave a comment

Your email address will not be published.


*