बालबालिकाले मागे योजना

बालबालिकाले मागे योजना

फोटो – नगरस्तरिय बाल भेलामा योजना निर्माण गर्दै बालबालिकाहरु ।

दैलेख बैशाख ३०-चामुण्डाविन्द्रासैनी नगरपालिका भित्रका बालबालिकाहरुले बालबालिकाहरुको चौतर्फी विकासका लागि नगरपालिकासंग विभिन्न योजना माग गरेका छन् । जम्बुकाँधमा आयोजित स्थानीय तहको योजना तर्जुमाका लागि नगरपालिका स्तरिय बाल भेलाबाट बालबालिकाहरुले विभिन्न योजना तथा कार्यक्रमहरु माग गरेका हुन् ।

विकास पूर्वाधारका कार्यक्रमहरुमा नगरपालिकाका सबै विद्यालयहरुमा सुद्ध खानेपानीको व्यवस्था हुनुपर्ने, बालमैत्री धारा निर्माण गरिनुपर्ने, छात्र छात्राहरुका लागि अलग अलग शौचालय निर्माण गर्ने गर्नुपर्ने, कक्षा कोठाहरुमा फर्निचर (डेक्स बेन्च) को उचित व्यवस्था हुनुपर्ने बालबालिकाहरुले माग गरेका हुन् ।
यस्तै बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुको लागि कार्पेटको व्यवस्था (बालमैत्री व्यवस्थापन) हुनुपर्ने, सवै विद्यालयमा पुस्तकालयको व्यवस्था, कम्प्युटरको व्यवस्था, माध्यामिक स्तरका विद्यालयमा सेनेटरी प्याडको व्यवस्था र त्यसको उचित व्यवस्थापन, खेलकुदमा सामग्रीको व्यवस्था, विद्यालयमा प्राथमिक उपचारको सुविधा, जिर्ण अवस्थामा रहेका विद्यालयका भवन मर्मत सुधार हुनुपर्ने माग गरेको हुन् ।
सामाजिक विकासका कार्यक्रमहरुमा छाउपडी प्रथा विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु संचालन, छाउपडी सम्बन्धि बनेका निती नियमको बारेमा प्रत्येक समुदायका व्यक्तिहरुलाई जानकारी गराउनका लागि नगरपालिकाबाट विशेष बजेटको व्यवस्थापन हुनुपर्ने माग गरेका हुन् ।
बढ्दै गएको बाल विवाह रोक्नका लागि बाल विवाहले गर्ने असरहरुबारे समुदायलाई जानकारी गराउने, माध्यामिक विद्यालयहरुमा बक्तृत्वकला प्रतियोगिता संचालन गर्ने, लोक गित प्रतियोगिता संचालन गर्ने, सडक नाटक प्रस्तुत गर्न, सचेतनामुलक ¥याली, निबन्ध प्रतियोगिता, किशोर किशोरीहरुलाई लक्षित गरि अभिभुखिकरण कार्यक्रम, तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नका लागि नगरपालिकाले व्यवस्थापन गर्न माग गरेका छन् । उनिहरुले समाजमा रहेको जातिय विभेद अन्त्यका लागि बालबालिकाहरुले जातिय विभेद सम्बन्धि समुदाय स्तरमा सडक नाटक संचालन गर्ने, समुदायका जेष्ठ नागरिकहरुसंग छलफल र बहस संचालन गर्नका लागि नगरले व्यवस्थापन गर्न माग गरेका हुन् ।
विद्यालयमा बालबालिकालाई नियमतिता गराउनका लागि जन्मदर्ता अभियान, विद्यालयमा बालमैत्री र अपागंमैत्री बसाई व्यवस्थापन, शिक्षक शिक्षिकालाई तालिमको व्यवस्थापन, अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्बन्धि तालिम, भर्ना अभियान, जोखिममा रहेका बालबालिकाहरुलाई छात्रबृती, दिवा खाजाको व्यवस्था, किशोरी शिक्षिकाको व्यवस्था नगरपालिकाले गर्नुपर्ने माग गरेका छन् ।
यस्तै बालबालिका तथा स्वास्थ्यसंग जोडिएको खोप, पौष्टिक आहार सम्बन्धि कार्यक्रम, महिला स्वास्थ्य स्वमसेवीका मार्फत सचेतना कार्यक्रम (गर्भवती, महिला र बालबालिकाहरुलाई), बालबालिका माथी हुने हिंसा सम्बन्धि समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम, अपांगता भएका बालबालिकाहरुलाई परिचय पत्र वितरणको अभियान, नगरपालिकामा रहेका बालबालिकाहरुको तथ्यांक संकलन र प्रकाशन, जोखिममा रहेका बालबालिकाहरुको तथ्यांक संकलन तथा सहयोग र बाल श्रमिकहरुलाई उद्धार र सहयोगका लागि नगरले नितीगत रुपमा योजना बनाउन माग गरेका छन् ।
बालबालिकाहरुले संस्थागत विकास तर्फ नगरपालिकाका सबै वडाहरुमा बालसंजाल, समुदाय र विद्यालयहरुमा बाल क्लब गठन गर्नुपर्ने, बाल क्लबका पदाधिकारीहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिनुपर्ने, बाल क्लब व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लबको सहभागिता गराउनुपर्ने माग गरेका हुने ।
आफुहरुले माग गरेका योजनाहरु नगरपालिकाले सम्बोधन गर्न सकेमात्रै समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने अनुशासित बाल क्लबका उपाध्यक्ष आशिस अधिकारीले बताए । चामुण्डाविन्द्रासैनी नगरपालिकाले आयोजना गरेको नगर स्तरिय बाल भेलाको सहयोग सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको थियो ।

प्रतिक्रिया