प्रहरी भवन बन्दै

प्रहरी भवन बन्दै

दैलेख – दैलेखमा प्रहरीको नयाँ भवन निर्माणको काम अघि बढाइएको छ । दैलेख पश्चिममा पर्ने आठबिस नगरपालिका–४ राकमकर्णाली स्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाईएको हो । स्थापनाकाल देखि भाडाको घरबाट शान्ति सुरक्षा प्रदान गर्दै आएको राकम प्रहरीले अब नयाँ भवन पाउने भएको छ । भवनको दैलेख प्रहरी प्रमुख डिएसपी हरि बहादुर ओलीले विधिवत रुपमा शिलान्यास गरे । कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुई करोड, ५१ लाख २१ हजार पाँच सय रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको हो । ढाई तले भवनमा ११ वटा कोठा रहने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । राकम प्रहरीले भवन र आवश्यक संरचनाको अभावमा भाडाको घर र कच्ची संरचनाबाट आम नागरिकको सुरक्षा गर्नु परिरहेको थियो । शान्ति सुरक्षाको अवस्थालाई चुस्त बनाउन प्रहरीका लागि भवन निर्माण थालिएको हो । भर्खरै सरुवा भर्ई दैलेख आएका डीएसपी ओलीले दैलेख प्रहरी र मातहतका युनिटहरु शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर लागिपरेको बताए ।
भौतिक संरचना निर्माणले शान्ति सुरक्षाको अवस्थार्ला मजवुत बनाउन प्रहरीलाई सहयोग र हौसला मिल्ने यहाँको स्थानीयको भनाई छ । यस्तै डिएफआइडीको सहयोगमा प्रहरी चौकी चुप्रा र तल्लो डुङ्गेश्वरमा नयाँ भवन निर्माणाधिन अवस्थामा रहेको प्रहरी प्रमुख ओलीले जानकारी दिए । दुई स्थानको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

प्रतिक्रिया