कोरोना रोकथाम : बार लगाएर लकडाउन

कोरोना रोकथाम : बार लगाएर लकडाउन

सुर्खेत चैत्र २४ : कोरोनाको जोखिम न्यूनीकरण गर्न सुर्खेतको एक टोलका स्थानीयले प्रवेशद्वारमै बार लगाएका छन् । कोरोना भाइरस संक्रमणको त्रास जताततै फैलिरहेका बेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको लालीगुराँस टोलमा बार नै लगाएर टोलमा प्रवेशमा निधेष गरिएको हो ।
काेरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देखि देशैभर लकडाउन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । लकडाउनको समयमा पनि बाहिरबाट धमाधम गाउँ छिर्न थालेपछि टोलमा संक्रमण हुन नदिन स्थानीय बासिन्दा र युवाहरुले बार लगाएका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–१ को लालीगुराँस टोलमा प्रवेश गर्ने ४ वटै बाटोमा बार लगाएको स्थानीय डम्बर सार्कीले बताएका छन् । टोलबासीले बाँस लगायतको काठपात प्रयोग गर्दै बार लगाएर आवतजावतमा रोक लगाएर बाहिरबाट आउनेलाई टोलमा प्रवेश गर्न बन्देज लगाएका हुन् ।

‘लकडाउन भए पनि टोलमा अन्य स्थानबाट आउने क्रम रोकिएन्, मानिसहरू यहि टोललाई चोर बाटोको रुपमा प्रयोग गर्न थाले, स्थानीय सजना सुनारले भनिन् ‘त्रास बढेपछि स्थानीय बासी लगाएत युवाहरुको पहलमा टोल प्रवेश मुल बाटो नै बार लगाएर बन्द गरिएको छ ।’ वीरेन्द्रनगर नगरपालिका–१ मा १४ वटा टोल छन् । ‘वडाका १४ टोलहरुमा एक टोलबाट अर्को टोलमा आवतजावत समेत बन्द गरिएको छ, त्यसका लागि सबै टोलका स्थानीय आफै सक्रिय छन्, वडाध्यक्ष गंगाराम सुनारले भने ।

प्रतिक्रिया