सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि

सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि

सुर्खेत साउन २७ । सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मजदुरको दैनिक ज्याला बढाइएको हो ।जिल्ला प्रशासन कार्यालय अन्तर्गतको दररेट निर्धारण समितिलेमजदुरहरुको ज्यालामा हेरफेर गरेको हो ।  यस्तै जडिबुटी र निर्माण सामग्रीको मूल्य पनि तोकिएको छ । 

बजारमा महँगी बढ्दै जाँदा समितिले मजदुरको ज्याला तोकेको हो । यस्तै कालोबजारी रोक्न निर्माण सामग्रीको पनि मूल्य निर्धारण गरिएको छ । अब यही समितिले निर्धारण गरेको दररेट अनुसार नै कारोबार हुनेछ । मजदुरले पनि तोकिएको दरमा ज्याला पाउनेछन् । आफूखुशी बजार मूल्य तोक्ने र मजदुरलाई कम ज्याला दिएर शोषण गर्नेक्रम बढेपछि यस्तो दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आर्थिक ऐन अनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो ।सरकारी काममा खटिने मजदुरको दैनिक ज्यालामा एकसय रुपैयाँ वृद्धि गरिएको छ । यस्तै निजी तथा गैरसरकारी संघसंस्थामा दैनिक ज्यालामजदुरी गर्नेहरुको पारिश्रमिक पनि बढेको छ । जसअनुसार डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा एकसय रुपैयाँ बढाइएको छ । यसअघि दैनिक आठसय रुपैयाँ पारिश्रमिक पाउने मजदुरहरुले अबदेखि नौंसय रुपैयाँ दैनिक ज्याला पाउनेछन् । काम गराउनेले अब साविककोभन्दा एकसय रुपैयाँ बढी दैनिक ज्याला दिनुपर्ने छ । 

यस्तै निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६ सय, पलम्बरको ६ सय ८८, सिनियर पलम्बरको सात सय, इलेक्ट्रिसियन हेल्परको ६ सय,इलेक्ट्रिसियनको सातसय, निर्माण सामग्री परीक्षण गर्ने ल्याव असिस्टेनको ६ सय ४० र टेक्निसियनको सात सय ४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै हलुका ड्राइभरको हकमा ६ सय ६०, हेभि ड्राइभरको हकमा सातसय ३०, हेभी इक्यिुमेन्ट अपरेटरको आठसय २०, ड्राइभर सहयोगीको ६ सय, नगर निरीक्षक अर्थात कार्यालय सहयोगी सरहलाई ६ सय, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचिकार, सर्भे हेल्पर र मालिको ६/६ सय रुपैयाँ दैनिक ज्याला निर्धारण गरिएको छ । 

मजदुरको हकमा गत आर्थिक वर्षको तलुनामा ६० रुपैयाँदेखि एकसय रुपैयाँसम्म ज्याला बढेको हो ।यस्तै मजदुरको हकमा अब २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । मजदुरले २६ दिनमात्रै काम गरेपनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्ने छ ।

नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदुर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । मूल्य र ज्याला निर्धारण गरेसँगै बजारमा कालोबजारी नहुने र मजदुरले उपयुक्त ज्याला पाउने विश्वास जिल्ला प्रशासन कार्यालयले गरेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई कडाइ गरिनेसमेत प्रशासनको भनाइ छ ।

मूल्य निर्धारण समितिले श्रीखण्ड र रक्तचन्दन लगायतका वन तथा भू-संरक्षणतर्फको पनि मूल्य तोकेको छ । जसअनुसार प्रतिकिलो श्रीखण्डको तीन हजार, रक्तचन्दनको दुई हजार, कपुरको दुई हजार पाँचसय, तेजपत्ताको एकहजार, लप्सीको तीनसय, टिमुरको तीन सय र बकाइनोको मूल्य तीनसय रुपैयाँ तोकिएको छ ।

त्यस्तै रुदाक्ष प्रतिगोटाको दुई सय र सर्पगन्धको पाँचसय रुपैयाँ तोकिएको छ । त्यस्तै विरुवाका लागि दाँते ओखर प्रति गोटाको २५ रुपैयाँ, उन्नत जातको चिली प्रतिगोटाको एकसय रुपैयाँ निर्धारण गरिएको छ । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ ।तर इट्टाको मूल्य भने यसपाली बढाइएको छ । यसअघि ढुवानीसमेत जोडेर प्रतिहजार वटाको चौध हजार पाँचसय निर्धारण गरिएकोमा चालु आर्थिक वर्षमा १५ हजार कायम गरिएको छ ।

प्रतिक्रिया