निरन्तर अवरुद्ध हुँदै कर्णाली प्रदेश सभा बैठक

निरन्तर अवरुद्ध हुँदै कर्णाली प्रदेश सभा बैठक

सुर्खेत: कर्णाली प्रदेश सभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । कर्णाली प्रदेश सरकारले असार १ गते २०७८÷७९ को बजेट सार्वजनिक गरेयता सभाको बैठक अबरुद्ध हुँदै आएको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित हुने गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका कारण संसद बैठक अद्धरुद्ध हुँदै आएको छ
आइतवार सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिबेशनको तेह्रौं बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको   छ । आइतवार बसेको बैठकमा पनि एमालेका सांसदहरू उठेर अवरुद्ध गरेपछि अर्को बैठक असार १८ गते दिउँसो दुई बजे बस्ने गरी स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका कारण कार्यसुचिमा प्रवेशनै नगरी बैठक स्थगित भएको छ ।
कर्णाली प्रदेशसभाको बैठकमा एमालेबाट निलम्बित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापा सहभागी भएपछि एमालेले आपत्ति जनाएको हो । एमालेले उनीहरूलाई संसदीय काम र कारवाहीमा सहभागी गराउन नपाइने माग गर्दै आएको छ ।
आइतवार बैठकको कार्यसूचीमा प्रवेश नगर्दै एमाले संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरू एमालेको सांसद भएको बताए । ‘प्रदेशसभामा निर्दलीय व्यवस्था सुरू गर्न खोजिएको हो,’ नेता कंडेलले भने ।
‘वैशाख ३ गते फ्लोर क्रस गरेर संसदीय दलको निर्णयविरुद्ध जाने चारैजनालाई कारवाही एमालेले गरेको हो, संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्यबाट समेत हटाएको हो, हामीले चाहेर वा खोजेर अथवा हारगुहार गरेर उहाँहरू सांसद हुनु भएको होइन, उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो’, नेता कंडेलले भने, ‘सर्वोच्चको आदेश अनुसार नै सभामुखज्यूले पत्र पढेर सुनाउनु भएको हो, उक्त पत्र अनुसार सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक छ ।’

 

प्रतिक्रिया