कर्णालीका मुख्यमन्त्रीको दैनिकी : जनताको गुनासो सुन्दै दिनदिनै अनुगमन

कर्णालीका मुख्यमन्त्रीको दैनिकी : जनताको गुनासो सुन्दै दिनदिनै अनुगमन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दैनिक अनुगमन गर्न थालेका छन् । आइतबारदेखि उनले अनुगमनलाई निरन्तरता दिएका छन् ।

मंगलबार मुख्यमन्त्री शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतमा निरीक्षण गरेका छन् । सेवाग्राहीहरूको गुनासोका आधारमा आकस्मिक रूपमा यातायात कार्यालयमा उनले निरीक्षण गरेका हुन् ।

अनुगमनको पहिलो दिन आइतबार मुख्यमन्त्री शाहीले प्रदेश स्तरीय सहिद पार्कनजिक प्रहरी बिट स्थापना गर्न लगाएका छन् । पार्क निर्माण भएको भैरम सामुदायिक वन उपभोक्ता समितिको मागबमोजिम सहिद पार्कनजिकै प्रहरीबीच स्थापना गर्न लगाइएको मुख्यमन्त्रीका स्वकीय सचिव राजबहादुर रोकायाले बताए ।

‘अनुगमनमा जाँदा त्यहाँ असुरक्षा भयो भनेर प्रहरी राख्न माग भएको थियो, त्यस अनुसार मुख्यमन्त्री ज्युले प्रहरीलाई आग्रह गर्नुभएको हो,’ उनले भने, ‘उहाँको आग्रहपछि प्रहरीले सोही दिन हवल्दारको नेतृत्वमा प्रहरी परिचालन गरेको छ ।’

अहिले प्रहरी बिट स्थापना गरिएको ठाउँमा साँझपख लागुपदार्थ सेवन गरेका युवाहरूको जमघट हुने भएकाले प्रहरी राख्न माग गरिएको भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बताए ।

त्यस्तो समूह लागुपदार्थ सेवन गरी रातिमा पार्कमा जान थालेपछि पार्कका संरचना पनि जोखिममा रहेको उनले बताए ।
‘प्रादेशिक सहिद पार्कको काम भइरहेको छ, पार्कमा सुरक्षाको छुट्टै व्यवस्था पनि छैन,’ अध्यक्ष कार्कीले भने, ‘पर्खाल नाघेर मान्छेहरू रातिमा पार्क छिर्न थालेपछि असुरक्षा महसुस भएको हो, यस कारण पनि हामीले प्रहरी राख्न भनेका थियौं ।’

वीरेन्द्रनगर–४ स्थित जंगल छेउमा बन्दै गरेको प्रादेशिक सहिद पार्क तथा वनस्पति उद्यानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । अध्यक्ष कार्कीले लागुपदार्थ सेवन गरेको समूहबाट पर्यटकलाई समेत असुरक्षा महसुस हुने हुँदा प्रहरी चौकी स्थापनापछि यसमा कमी आउने अपेक्षा गरिएको बताए ।

मुख्यमन्त्री शाहीको आग्रहमा प्रहरी हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनालाई बिट स्थापना गरेर खटाइएको छ । सामुदायिक वनको भवनको चार वटा कोठामध्ये एउटा कोठा तत्कालका लागि प्रहरी बिटलाई दिइएको कार्कीले बताए ।

मंगलबार यातायात व्यवस्था कार्यालयमा गरेको अनुगमनका क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीलाई सेवा लिनेक्रममा देखिएको समस्या समाधानको उपायका बारेमा छलफल गरेका छन् ।

यातायात कार्यालय सुर्खेतले अनुसूची फारम भर्न नदिएको, दलालमार्फत् अनुसूची फाराम भर्दा १५ रुपैयाँ दस्तुरको ठाउँमा १०० रुपैयाँ तिर्नुपरेको, शुल्क तिर्न घण्टौं लाइन बस्नुपरेको गुनासा मुख्यमन्त्री शाहीलाई सेवाग्राहीले गरेका थिए ।

सेवाग्राहीको गुनासा सुनेपछि उनले अनलाइनमार्फत् शुल्क तिर्ने व्यवस्था मिलाउन, आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । कार्यालय आफैंले गर्न सक्ने न्यूनतम काम पनि नभएको गुनासो आएपछि मुख्यमन्त्री शाहीले तत्काल सुधार गर्न निर्देशन पनि दिएका छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग छलफल गरी मुख्यमन्त्री शाहीले कार्यालय बाहिर अनुसूची फाराम भर्ने प्रयोजनका लागि खोलिएका पसल तत्काल बन्द गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

मुख्यमन्त्रीसँग भएको छलफललगत्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय बाहिरका पसल हटाउन र ट्राफिक व्यवस्थापन मिलाउने प्रक्रिया सुरू गरेको छ । सेतोपाटीबाट

 

प्रतिक्रिया