दुधे बालक पिठ्युँमा बोकेर चुनावी मैदानमा बसन्ती

दुधे बालक पिठ्युँमा बोकेर चुनावी मैदानमा बसन्ती

सुर्खेत : यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुन नौँ दिन बाँकी छ । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु घरदैलो कार्यक्रममा छन् । बुढापाका देखि स–साना बालबालिका पिठ्युँमा बोकेरै भए पनि विभिन्न दलबाट पालिका तथा वडामा उठेका उम्मेदवारहरु घरदैलो कार्यक्रममा होमिएका छन् ।

त्यस मध्येकी एक महिला हुन दैलेखको ठाटीकाँध गाउँपालिका –१ सिराडीकी बसन्ती विक । उनि अहिले बच्चा बोकेर घर दैलो अभियान छिन् । स्थानीय तह निर्वाचनमा सदस्यको उम्मेदवार बनेकी बसन्ती २०५२ मा सुरु भएको जनयुद्धमा पिठ्युँमा बच्चा बोकेर होमिएको सम्झिन्छिन् । ‘जनयुद्ध लेडेरै नयाँ राज्यसत्ताको स्थापना गरियो, अब बच्चा बोकेरै वडा सदस्य लडेर वडा परिर्वतन गर्ने लक्ष्य छ, उनले भनिन् । नेकपा (माओवादी केन्द्र) बाट ठाटीकाँध गाउँपालिका–१ को दलित महिला सदस्य पदमा उठेकी उनी अहिले घरदैलो कार्यक्रममा रहेकी छन् ।

कृषि, पर्यटन, शिक्षा र उद्यमशिलता विकास, सुन्दर र विकसित वडा निर्माणको निकास भन्ने मुल नाराका साथ उनी घरदैलो कार्यक्रममा रहेकी छन् । चुनावी प्रचार प्रसारका लागि घरदैलो कार्यक्रममा नजिक जाँदा आठ महिने दुधे बालकलाई आफन्तकोमा छाडेर जाने गरेको उनले बताइन् । घरदैलो कार्यक्रममा कही टाढा जादा र धेरै नै समय लाग्ने स्थानमा बोकेरै हिँड्ने गर्छु,’ उनले भनिन्, ‘वडा परिर्वतन गर्नु छ त्यस्का लागि भए पनि आफै लागि परेकी छु ।’

उमेरले ३२ वर्ष पुगेकी बसन्तीसँग वडा परिर्वतन गर्न सक्छु भन्ने आँटका साथ आठ महिने बालक पिठयुँमा च्यापेरै भएपनि घर दैलो अभियानको दौडधुपमा रहेकी छन् । ‘म अहिले आठ महिने शिशुसँगै चुनावी मैदानमा छु,’ उनले भनिन्, ‘घरमा बच्चा हेर्ने कोही नभएर घरदैलोमा सानो छोरालाई सँगै लिएर हिडेकी छु, शिशुसँगै किन वडा सदस्यमा उठेको नभनिदिनुस ।’

‘बच्चा बोकेर हिड्दा बच्चा रुँदा गाह्रो त हुन्छ तर म केही गर्छु भनेर आएको छु, यसमा तपाईहरुले अप्ठेरो नमानिदिनु होला । म हाम्रो गाउँ र टोल विकासका लागि अगाडि सरिक भएकी हुँ ।’ वडा सदस्य जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्न र महिलाको समस्याप्रति ध्यान दिने उनको भनाइ छ । उनको आत्मविश्वास र साहसबाट गाउँले प्रभावित भएका छन् ।

 

प्रतिक्रिया