छाउपडी कहरको अन्त्य, मर्यादित महिनावारीको सुरुवात

छाउपडी कहरको अन्त्य, मर्यादित महिनावारीको सुरुवात

महिलालाई मानव जीवनमा छुट्टै परिचय दिने सशक्त माध्यम हो, महिनावारी । यो एक प्राकृतिक प्रक्रिया हो । तर, महिनावारी बार्ने चलन अहिले पनि कायमै छ । महिनावारी हुँदा छाउ गोठ, गाई बस्नु बाध्ने गोठ वा भनौ अलग्गै बस्नुपर्ने बाध्यतामा महिलाहरु छन् । महिनावारी बार्ने चलन पटक्कै ठिक होइन । महिनावारी हुँदा छाउगोठ वा गाई बस्तु बाँध्ने गोठमा बस्नुपर्दा महिलाहरु यौन हिंसा तथा सर्पले टोक्ने समस्या झेलिरहेका छन् । महिनावारी भएको समयमा छाउगोठमा बसेका बेला सर्पले टोकेर कयौ महिला तथा किशोरीहरुले ज्यान समेत गुमाईसकेका छन् ।
महिनावारीका बेला गरिने छुवाछूत वा विभेद महिलामाथि हुने संस्कृतिको नाममा सामाजिक दमन हो । कतिपय ठाउँमा महिनावारी हुँदा किशोरीहरु विद्यालय जान समेत पाउँदैनन् । सबैभन्दा ठूलो कुरा रजश्वला अर्थात महिनावारी भएका बेला महिलाहरुले पोषणयुक्त खानेकुरा जस्तै दुध र दुधजन्य पदार्थ खान पाउँदैनन् । यो पूर्णतया महिलामाथि हुने दमन हो ।
कानूनले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न बन्देज गरेको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । राष्ट्रसेवकले यस दफामा लेखिएको कसुर गरेमा नीजलाई थप तीन महिना कैद सजाय व्यवस्था कानूनले गरेको छ । वर्षौँदेखि समाजमा जरो गाडेका यो प्रथा कानुनले अन्त्य गर्न सकेको छैन् ।
महिनावारी बार्ने चलन (छाउपडी प्रथा) अन्त्यका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुबाट थुप्रै प्रयासहरु भईरहेका छन् । सरकारले छाउगोठ भत्काउने अभियान समेत चलायो । तर, अभियान चल्दा भत्किएका छाउगोठ पुःन ठडिए । यसरी हेर्दा महिनावारी बार्ने चलन समाजमा जरो गाडेर बसेको देखिन्छ ।
हामीले मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् । सामाजिक र धार्मिक आस्थासँग जोडिएको छाउप्रथा अन्त्य गर्न कानुन लागु गरेर होस् वा छाउगोठ भत्काउने अभियान चलाएर मात्रै हुँदैन् । तीनै तहका सरकार र गैरसरकारी संघ संस्थाहरुले महिनावारी बार्ने चलनलाई अन्त्य गर्न ठोस् योजना सहित सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता त छदैछ । अर्कोतर्फ सञ्चार क्षेत्रबाट पनि छाउपडी प्रथा (महिनावारी बार्ने चलन) अन्त्य गर्न केहि योगदान दिनुपर्छ भन्ने हाम्रो ठम्याई हो । यद्धपी नेपाली सञ्चार माध्ययमहरुले छाउपडी जस्ता कुरिति र कुप्रथाविरुद्ध थुप्रै प्रयासहरु गरिरहेकै छन् । हाम्रो अभियान त्यसै भित्रको एउटा सानो प्रयास हो ।

सोसेक नेपाल सामाजिक कुरिति र कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि थुप्रै क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । संस्थासँगै जोडिएको ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन (छाउपडी) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । हामीले जनप्रतिनीधि, सामाजिक अभियान्ता, महिला, डाक्टर, स्वास्थ्यकर्मी, धामी पुजारी, किशोर किशोरी तथा पुरुषहरुसँगको सहकार्य र समन्वयमा साप्ताहिक स्तम्भ प्रकाशन गरिनेछ । हामीले थालेको यो स्तम्भलाई बढि भन्दा बढि पाठकको पहुँचमा पुर्याउने भरपुर प्रयास गर्नेछौ । यहाँहरुका सल्लाह र सुझावको समेत अपेक्षा गर्दछौ ।

हिक्मतबहादुर नेपाली
कार्यकारी सम्पादक

 

प्रतिक्रिया