गाईबस्तुको बच्चा अगेनोमा, सुत्केरीलाई गोठमा राख्ने कुसंस्कार अन्य हुनुपर्छ

गाईबस्तुको बच्चा अगेनोमा, सुत्केरीलाई गोठमा राख्ने कुसंस्कार अन्य हुनुपर्छ

जहाँ पुग्छन्, मर्यादित महिनावारीको सवाल उठाउँछन्

दैलेख : ‘जय महिला जय बालबालिका’ यो उनको थेगो वा भनौ नारा नै हो । उनि जहाँ पुग्छन् यहि थेगो दोहो¥याउँछन् । सार्वजनिक कार्यक्रम होस् या बैठक, भेला होस्, जहाँ पनि यहि थेगो उठाउने व्यक्ति हुन्, हीरासिंह थापा । यो नेपाली समाज रूपान्तरणमा सर्वपरिचित नाम हो ।

२०२८ साल वैशाख १ गते दैलेखको भैरवी गाउँपालिकास्थित रावतकोटमा जन्मिएका थापा सामाजिक जागरण, महिला र बाल अधिकारको क्षेत्रमा अनवरतरूपमा कार्यरत छन् । थापा केहि समयअघिसम्म पेसाले इन्जिनियर थिए । इन्जिनियरको जागिर त्यागेका उनै थापा अहिले समाज रुपान्तरणको कार्यमा थप शसक्त रुपमा क्रियाशिल छन् । हाल थापा दैलेखको अग्रणी सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । यो संस्थाको संस्थापक अध्यक्ष पनि थापा नै हुन् ।

बालविवाह, छाउप्रथा, जातीय विभेद न्यूनीकरण तथा गरिबी उन्मुलनमा थापा उत्तिकै चिन्तनशील छन् । थापा महिनावारी विभेद अन्त्य गर्दै महिनावारीलाई मर्यादित बनाउनुपर्छ भन्ने दृढ संकल्पका साथ कार्य गरिरहेका छन् । उनका बोलिरहने केहि थेगोहरु छन्, ‘जय महिला जय बालबालिका’, ‘मर्यादित महिनावारी : हामी सबैको जिम्मेवारी’, ‘बिहेवारी : २० वर्ष पारी’ । हरेक कार्यक्रम, बैठक भेलामा मन्तव्यका क्रममा अन्त्यमा कहिल्यै नछुटाउने थेगोहरु हुन् यी ।

उनले भन्ने गरेका थेगोहरु अहिले अन्य सामाजिक अगुवा र अभियान्ताहरुले समेत सिको गर्न थालेका छन् । यीनै थेगोहरुले सामाजिक रुपान्तरण र कुसंस्कार र कुरिति अन्त्य गर्नमा कुनै न कुनै हिसावले सहयोग पुर्याएको देखिन्छ । बाल विवाह र छाउपडी प्रथाविरुद्ध हरेक ठाउँमा पुग्दा खरो रुपमा प्रस्तुत हुने गरेका थापा गाईबस्तुको बच्चा अगेनोमा राख्ने तर, सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य हुनुपर्ने बताउँछन् ।

‘भैँसीले पाडो जन्माउँछ, बाख्राले पाठो जन्माउँछ, गाईले बाच्छो जन्माउँछ, भर्खरै जन्मिने ती पाडो, पाठो बाच्छोलाई अगेनोमा राख्छौ, छुईछिटो गर्दैनौँ तर हाम्रै घरको दिदिबहिनी, भाउजू र आमाले बच्चा अर्थात् शिशु जन्माउँदा होस् वा महिनावारी हुँदा गोठमा राख्छौ, अब यस्तो खालका कुसंस्कार र प्रर्थालाई अन्त्य गर्नुपर्छ ।’

दैलेखका केहि स्थानहरुमा सुत्केरी महिलाहरुलाई समेत निश्चित दिनसम्म गोठमा राख्ने कुसंस्कार छ । महिनावारी बोर्ने चलन अर्थात महिनावारी विभेद तथा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कार गलत सोचाई र मानसिकताको उपज रहेको थापाकोृ भनाई छ । मान्छेलाई गाई भैँसी र बाख्रा भन्दा पनि तल्लो दर्जामा राख्ने कुरिति र कुसंस्कार अन्त्य नहुँदासम्म सभ्य समाजको निर्माण हुन नसक्ने थापाको बुझाई छ ।
उनले महिनावारीलाई मर्यादित बनाउन आम नागरिकलाई समेत बनाउनुपर्नेमा जोड दिन्छन् ।

छाउगोठ भत्काएर मात्रै छाउपडी प्रर्था अर्थात महिनावारी विभेद अन्त्य नहुने बताउँदै आएका थापाले मानसिकताबाटै छाउगोठ भत्काउनुपर्ने बताउँछन् । ‘महिनावारी महिलाको शरिरमा हुने प्राकृतिक प्रकृया हो, महिलाको प्रजनन् स्वास्थ्य स्वस्थ्य छ भन्ने प्रतिक पनि हो,महिनावारीलाई अछुतको व्यवहार गर्नु गलत छ,’ थापा भन्छन् ‘अब सबै लागि परौँ, महिनावारी विभेदलाई अन्त्य गरेर मानसिकताबाटै मनको छाउगोठ भत्काऔँ अनी मर्यादित महिनावारी हामी सवैकाे जिम्मेवारी पुरा हुनेछ ।

प्रतिक्रिया